टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक — OSNepal

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक

LC (KTM) July 03, 2024 0

काठमाडौँ, १९ असार : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।सिंहदरबारमा आज बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन छलफल अगाडि बढाएको कार्यदलका सदस्य महेश वर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उहाँले बताउनुभयो । “विधेयकमा सहमति जुटाउनेगरी छलफल सुरु गरेका छौँ । आज विशेषगरी मानवअधिकारको गम्भीर उल्लङ्घन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा भएका घटना र प्रभावित व्यक्ति तथा महान्यायाधीवक्ताले गम्भीर मानवअधिकार उल्लङ्घनका विषयमा गर्ने मागदाबीलगायत चार विषयमा सहमतिमा छलफल भएको हो । चाँडै असमतिका विषयलाई निष्कर्षमा पुर्‍याउँछौँ”, वर्तौलाले भन्नुभयो ।

कार्यदल सदस्य रमेश लेखकले टिआरसी विधेयकमा सहमति जुटाउन बैठकमा सकारात्मक छलफल भएको बताउनुभयो । अर्का सदस्य जनार्दन शर्माले आजको छलफल सकारात्मक ढङ्गले अगाडि बढेकाले चाँडै असहमतिबारे चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नमिलेका विषयमा सहमतिका लागि केही दिनअघि सहजीकरण कार्यदल गठन गरिएको थियो । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताको सहमतिमा कार्यदल गठन गरिएको हो । कार्यदलमा कांग्रेसबाट लेखक, एमालेबाट वर्तौला र माओवादीबाट शर्मा सदस्य हुनुहुन्छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका चार बुँदामा छलफलगरी साझा धारणा बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर