हुम्लामा ४६ दशमलव १९ प्रतिशत एसइईमा उत्तीर्ण — OSNepal

हुम्लामा ४६ दशमलव १९ प्रतिशत एसइईमा उत्तीर्ण

LC (KTM) June 29, 2024 0

सिमकोट, (हुम्ला)-जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागीमध्ये ४६ दशमलव १९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । ५४ दशमलव ८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

हुम्लाबाट कूल एक हजार एक सय ६९ परीक्षार्थाी एसइईमा सहभागी भएका थिए । तीमध्ये पाँच सय ४० जना मात्र उत्तीर्ण भएका हुन् । छ सय २९ विद्यार्थी अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख आलेमगरले बताउनुभयो ।

हुम्लाको एक विद्यालयको नतिजा निल (शून्य प्रतिशत) भएको छ । अदानचुली गाउँपालिका–५ स्थित सल्ललाघारी माध्यमिक विद्यालय निल भएको हो । शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका निमित्त प्रमुख मगरका अनुसार सल्लाघारी माविबाट ५१ जनाले परीक्षा दिएका थिए ।

साधारण धारतर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रास्थित सीता माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । साधारणतर्फ परीक्षामा सहभागी १९ जना मध्ये कोही पनि उत्तीर्ण हुन नसकेको उहाँले बताउनुभयो ।

प्राविधिक धारतर्फ परीक्षामा सहभागी ३१ जनामध्ये १० जना उत्तीर्ण भएका छन् । खार्पुनाथ गाउँपालिका–२ थालीमा रहेको शङ्कर माध्यमिक विद्यालयबाट एसइईमा सहभागी १३ जनामध्ये तीन जना उत्तीर्ण भएका छन् । हुम्ला मावि रायाबाट परीक्षामा सहभागी १४ मध्ये तीन जना उत्तीर्ण भएका छन् ।

त्यस्तै अदानचुली गाउँपालिका–६ स्थित कैलाशपुरी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ३७ परीक्षार्थी मध्ये एक जना मात्रै उत्र्तीण भएका छन् । अदानचुलीकै ज्ञानदेव माध्यमिक विद्यालयबाट एसइईमा सहभागी ३७ जनामध्ये चार जना मात्रै उत्तीर्ण भएका छन् । ताँजकोटमा रहेको मदनादेव माध्यमिक विद्यालय पादा पदनाबाट २४ जना परीक्षार्थीमध्ये दुई जना मात्रै एसइईमा उत्तीर्ण भएका छन् ।

सदरमुकाम सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक विद्यालयबाट सहभागी १५ जनामध्ये तीन जना उत्तीर्ण भएका छन् । वडा–८ स्याडा गाउँमा सैपाल हिमाल माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी १९ जनामा दुई जना उत्तीर्ण भएका हुन् । कैलाश माविबाट परीक्षामा सहभागी २७ मध्ये पाँच जना उत्तीर्ण भएका छन् । यसैगरी रलिङ्ग माध्यमिक विद्यालय र कर्णाली माध्यमिक विद्यालयबाट आठ–आठ जना उत्तीर्ण भएका छन् ।

अदानचुली गाउँपालिका ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी लोकराज महतारा जिल्लाकै एसइई परीक्षार्थीमध्ये उत्कृष्ट तीन दशमलव ९५ जिपिए प्राप्त गर्ने विद्यार्थी हुनुभएको छ । सोही विद्यालयका विराज भण्डारीले तीन दशमलव ८६ जिपिए प्राप्त गर्नुभएको छ । हिमज्योति माध्यमिक विद्यालय सर्केगाडका मिशन रोकायाले तीन दशमलव ८२ जिपिए प्राप्त गर्नुभएको विद्यालयले जनाएको छ ।

प्राविधिक धारतर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रामा रहेको सीता माध्यमिक विद्यालयका अस्मिता रावलले तीन दशमलव ३८ जिपिए र सोही विद्यालयका महेश हमालले तीन दशमलव ३३ जिपिए प्राप्त गर्नुभएको छ । यसैगरी नाम्खा गाउँपालिका महावौद्ध माध्यमिक विद्यालय याल्वाङका पेमा तेन्जि लामाले तीन दशमलव २८ जिपिए प्राप्त गर्नुभएको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर