‘नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’ : सांसद गुरुङ — OSNepal

‘नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’ : सांसद गुरुङ

LC (KTM) June 28, 2024 0

काठमाडौँ, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गर्नुभयो । मुुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई सङ्घीयताले छुन नसकेको उहाँको भनाइ थियो ।

यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले आगामी दिनमा विपद्बाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । उहाँले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्छ भन्नुभएको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राख्नुभएको स्मरण गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्रत पार्टीका नेता एवं सांसद मनिष झाले सदनमा शून्य समय र विशेष समयमा प्राकृतिक प्रकोपका विषयमा नियमितरुपमा उठिरहेका विषयलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आजभन्दा ४८ वर्षअघि ल्याइएको संरक्षित क्षेत्रको अवधारणाविपरित पछिल्लो समय जोखिम आँकलन नगरी जथाभावी डोजर प्रयोग भएले चुरे क्षेत्रमा त्यसको गम्भीर असर परेको धारणा राख्नुभयो ।

सांसद झाले चुरे तराई मधेसका लागि पानीको मुख्य स्रोत भएको र पछिल्लो समय अनावश्यक दोहनका कारण तराइमा पानीका स्रोत र संरक्षण क्षेत्र दुवै कमजोर भएका बताउनुभयो । नेपाल सरकारले चुरे क्षेत्रमा वातावरण संरक्षण क्षेत्र घोषणा गरे पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर