‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्नेछ’ - माधव नेपाल — OSNepal

‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्नेछ’ – माधव नेपाल

LC (KTM) June 26, 2024 0

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न राष्ट्रिय महाधिवेशनबाट अनुमोदन हुने वैचारिक दस्तावेजले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु-याउने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि मंगलबार आयोजना गरेको सांस्कृतिक साँझ उद्घाटन गर्दै अध्यक्ष नेपालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गरी देश र जनताको हितमा प्रयोग गरिने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताउँदै उहाँले परिवर्तनको लाभ जनतासम्म पु-याउन कम्युनिष्ट शक्तिबीच एकता र सहकार्य गरी आवश्यक नीति तथा कानुनी व्यवस्था परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले सबै नागरिकलाई समानताको अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास गर्न सकिने धारणा उहाँले राख्नुभयो । संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको उहाँको भनाइ छ । उहाँले देश विकासका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनबाट वैज्ञानिक समाजवादका आधार तयार गर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रुपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

महासचिव घनश्याम भुसालले राष्ट्रिय पुँजीको विकास गरी मुलुकमा उत्पादन वृद्धि तथा न्यायोचित वितरण गर्न समाजवादको कार्यान्वयनमा जोड दिनुभयो । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन हुँदैछ । शीर्ष नेताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर