‘बाह्रौँँ नेपाल–अफ्रिका चलचित्र महोत्सव’ काठमाडौँमा — OSNepal

‘बाह्रौँँ नेपाल–अफ्रिका चलचित्र महोत्सव’ काठमाडौँमा

LC (KTM) June 22, 2024 0

काठमाडौँ -: ‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन’ र ‘विलक्षण क्रियसन’को आयोजनामा शुक्रबारदेखि सुन्धारास्थित सिनेडी सेफ चलचित्र भवनमा तीनदिने ‘बाह्रौँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु भएको छ । यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र प्रदर्शन गरिनेछन् ।

महोत्सवमा नेपालबाहेक दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, जिम्बाबे, क्यामरुन, मरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । “हामीले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको चलचित्र प्रदर्शन हुनुपर्छ भन्ने आवश्यकता महसुस गरेर यसको सुरुआत गरेका हौँ । महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ”, उहाँले भन्नुभयो । नेपाल र दक्षिण अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको निर्देशक क्षेत्रीले बताउनुभयो ।

उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठले यस्ता गतिविधिमा सरोकारवाला पक्षले चासो दिएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा समावेश चलचित्रले त्यहाँको समाजलाई बुझ्न मद्दत गर्छ । विश्वमा कस्ता चलचित्र बनिरहेका छन् भन्ने विषयमा जानकारी दिनुका साथै ती चलचित्रकर्मीसँग साक्षात्कार गर्ने अवसर दिन्छ ।”

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य र गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारतीलगायत सहभागी हुनुहुन्थ्यो । महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृत्तचित्रर्फ गणेश पाण्डेको संयोजकत्वमा राहुल वर्मा, एमडी शाहारिअर कमल, राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति बनाइएको छ ।

यस्तै, नेपाली चलचित्र र वृत्तचित्रतर्फ नाट्यकर्मी वीरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल तथा ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति बनाइएको छ । यस्तै, नेपाली लघु चलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृत्तचित्रतर्फ ‘वी ह्याभ नेभर विन किड्स’, ‘ह्वाइट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाइफस्टाइल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृत्तचित्रतर्फ ‘जर्नी टू गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर