काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको जोखिमबाट बच्न डढेलो नियन्त्रणलगायतका काममा हरेक व्यक्ति, समुदाय, तीनै तहका सरकार र सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।
मेची महाकाली मिडिया सोसाइटी र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा ‘२१औँ शताब्दीमा जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव र पत्रकारको दायित्व’ विषयक गोष्ठीमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट सामाजिक–आर्थिक विकास, जैविक विविधता, कृषि तथा पर्यटन विकासआदि क्षेत्रमा समेत नकारात्मक असर पर्दै गएको उल्लेख गर्नुभयो ।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भएको भारी वर्षाका कारण भएको भौतिक क्षतिका साथै उच्च पहाडी भेकस्थित मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजार ध्वस्त भएको घटनालाई उदाहरणका रूपमा लिन सकिनेउहाँको भनाइ थियो । उहाँले जलवायु परिवर्तनका कारण हिउँ पग्लेर हाम्रा हिमाल कालापत्थरमा परिणत हुने, हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा बाढी, पहिरो र सुक्खा खडेरी तथा तराई–मधेसमा बाढी तथा डुबानका घटना अस्वाभाविकरूपमा देखिन थालेको बताउनुभयो ।
उहाँले भूमि, पानी, वनस्पति र जैविक विविधतालगायत प्रकृति र प्राकृतिक स्रोतहरूको संरक्षण एवं व्यवस्थापन गर्ने समान उद्देश्य बोकेका संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले जलवायु अनुकूलन तथा वातावरण संरक्षणका क्षेत्रमा आपसी समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जलवायु र पत्रकारितासम्बन्धी विज्ञहरुले कार्बन उत्सर्जनमा नेपाल न्यून योगदान भए पनि जलवायु परिवर्तनको दृष्टिले नेपाल चौथो जोखिमयुक्त मुलुकमा परेकाले यस मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए । उहाँहरुले पानीका स्रोतहरू सुक्ने, वन डढेलो लाग्ने तथा नयाँ रोगको प्रकोपमा वृद्धि जस्ता नकारात्मक असर देखा परिरहेकामा चिन्ता व्यक्त गर्नुभएको थियो ।
कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनले प्राकृतिक विपद्मा वृद्धि भई राष्ट्रिय उत्पादन र मानवीय जीवनमै प्रतिकूल असर पर्ने भएकाले यसको रोकथामका लागि नीतिगत प्रबन्ध गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सोसाइटीका अध्यक्ष माधव शर्मा, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्षद्वय तीर्थ कोइराला र अर्जुन ढकाल, पत्रकार निर्मला शर्मा, पत्रकार दुर्गा भण्डारीलगायतले जलवायु परिवर्तनका मुद्दालाई सञ्चारक्षेत्रले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।