गर्मी बढेसँगै चितवनमा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी — OSNepal

गर्मी बढेसँगै चितवनमा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी

LC (KTM) June 10, 2024 0

नारायणगढ (चितवन), २८ जेठ : गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उहाँले भन्नुभयो, “काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न ।”

उहाँले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताउनुभयो । गर्मी बढेको कारण पर्यटकको सङ्ख्यामा कमी आएको उहाँको अनुमान छ । अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ ।”

जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष धु्रव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन् ।” यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उहाँले जानकारी दिनुभयो । उहाँले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताउनुभयो ।

चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटनकर्मी रमेश दवाडीले वर्षायाममा पर्यटक स्वतः घट्ने बताउनुभयो । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्सुन सुरु हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।” उहाँले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर