अर्घाखाँची,- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको बिगँ्रदो अवस्था सुधार्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ ।नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अर्यालले एमाले मिसन २०८४ सफल बनाउने उद्देश्यसहित सरकारमा सहभागीको बताउनुभयो । “एमाले अहिले गठबन्धनको सरकारमा छ ।
यसबाट धेरै उपलब्धि हासिल गर्न नसकिए पनि मिसन २०८४ लाई सफल बनाउने हाम्रो उद्देश्य हो । यो अभियान सफल पार्न सरकारको भूमिका पनि हुने भएकाले हामी सरकार र जनताको बीचबाट अभियान सफल पर्न लाग्ने छौँ”, उहाँले भन्नुभयो । रोजगारी सिर्जना र युवा पलायन रोक्न प्रमुख शक्तिका रूपमा रहेका एमाले र नेपाली कांग्रेससहित सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।
पोलिट्ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले जनप्रतिनिधिको काम र विकास योजनामा तालमेल हुन नसकेको बताउनुभयो । आफू मुख्यमन्त्री हँुदा किसानलाई दूधमा उत्पादनका आधारमा अनुदान दिन सुरु गरेको तर अहिले बन्द भएकाले त्यस कार्यलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरे, केन्द्रीय सदस्य चेतनारायण आचार्य, बोमबहादुर विक, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जनार्दन खनाललगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।d