काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महाधिवेशन तयारीबारे जानकारी दिन आईतबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विगतमा आन्तरिक तथा मुलुकको राजनीतिक तरलताका कारण दुई पटकसम्म सारिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले अब तोकिएकै समयमा महाधिवेशन हुने प्रष्ट पार्नुभयो ।
निर्धारित समयमै महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्ररूपमा कार्यसम्पादन गरिरहेका र दस्तावेज लेखनकार्य सकिएकाले अब राजनीतिक अन्तर्विरोधको सन्दर्भमा थप छलफल गरिने उल्लेख उहाँले गर्नुभयो । राष्ट्रियतामाथि सङ्कट गहिरिँदै गइरहेकाले देशका लोकतान्त्रिक र समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या समधान गर्न समाजवादलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा रहेका सम्पूर्ण समस्या, विकार र बिकृतिको समाधान गर्न सकेमात्र सामाजिक रूपान्तरण कायम हुने धारणा राख्नुभयो ।
महासचिव घनश्याम भुसालले राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार तथा ढिलासुस्ती बढ्दै गएको भन्दै रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनका विभिन्न अन्योललाई अन्त्य गरी रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउन महाधिवेशन सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ आयोजना हुने बताउनुभयो । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म हुँदैछ ।