नेपालगञ्ज, जेठ १८ गते । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युतसँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताउनुभयो । उहाँले विद्युत अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
“हुरी तथा ओभर लोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतको काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ । साथै विद्युत अनियमित नहोस् भनेर भारतबाटसमेत विद्युत आपूर्ति गर्न स्विच जडान गरिएको छ”, उहाँले भन्नुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ । अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।