गणतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्छः मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी — OSNepal

गणतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्छः मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी

LC (KTM) May 28, 2024 0

काठमाडौँ, १५ जेठ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ ।सत्रौँ गणतन्त्र दिवसका अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आज आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले गणतान्त्रिक व्यवस्थालाई थप समृद्ध बनाउँदै जनआकाङ्क्षालाई पूरा गर्नेतर्फ सबै अग्रसर हुन जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको संविधानले नेपालको सार्वभौम राजकीय सत्ता नेपाली जनतामा रहने र नेपाललाई स्वतन्त्र गणतन्त्रात्मक राज्य घोषित गरेको छ । अहिलेको संविधानको सबैभन्दा मौलिक पक्ष भनेको नै यही हो भन्ने मलाई लाग्छ । गणतान्त्रिक व्यवस्थालाई समृद्ध बनाउँदै जनताको अपेक्षा र आकाङ्क्षालाई पूरा गर्दै, निराशालाई आशामा परिणत गर्न सके मात्रै दिवसको सान्दर्भिकता रहन्छ ।”

उहाँले संविधानको भावनाअनुरुप सबै प्रकारका विधयेकको अन्त्य, आर्थिक समानता र समृद्धि, सामाजिक न्याय, स्वतन्त्रता, सुशासन र पारदर्शितालाई महत्वपूर्ण कुरा हुन् भन्दै सोही बमोजिम मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको गन्तव्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी भएको खाँचो औँल्याउनुभयो ।

आज गणतन्त्रात्मक शासन व्यवस्थाको आज १७ वर्षको अभ्यास हुँदै गर्दा संविधान र व्यवस्थाअनुरुप के कस्ता प्रतिफल जनताले हासिल गरे भनेर समीक्षा र मूल्याङ्कन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । यस विषयमा राज्यका निकाय र राजनीतिज्ञ र सरोकारवालाहरुले समीक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो ।

न्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जनताको समस्या उठाउने जनप्रतिनिधिहरुको थलो संसद् आशातीत रुपमा प्रभावकारी हुन नसकिरहेको भन्दै थाती कानून निर्माण र जनताका अत्यावश्यक विषयलाई केन्द्रमा राखेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत सुदृढीकरणका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । विदेश पलायन रोकेर रोजगारी सिर्जना गरी आम नागरिकमा आशा जगाउनेतर्फ अहिलेको व्यवस्थाले प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो । नेता रिजालले भन्नुभयो, “गणतन्त्रात्मक शासन व्यवस्थामा हिजोभन्दा धेरै क्षेत्रमा प्रगति भएको, राजस्व बढेको, प्रतिव्यक्ति आय बढेको, औसत आय पनि बढेको छ भने आर्थिक अवस्था सुधारिएको तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो, यसलाई थप सुदृढ र प्रभावकारी बनाएर लैजान जरुरी छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता कृपाशुर शेर्पाले गणतान्त्रिक व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । सम्मानितका तर्फबाट नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले अहिलेको व्यवस्थाले नागरिक अधिकार, सुशासन र आर्थिक विकासको गतिलाई तीव्रता दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले जनताको त्याग र बलिदानबाट प्राप्त गणतन्त्रलाई व्यावहारिक रुपमा जनआकाङ्क्षाअनुरुप पूरा गर्न राजनीतिक दल र सरोकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरु पत्रकार, कलाकार, शिक्षाकर्मी, स्वास्थ्ययकर्मीलगायतलाई ‘राष्ट्रिय सेवा सम्मान’ द्वारा सम्मान गरिएको थियो । यस्तै, सूचना प्रविधिको क्षेत्रमा योगदान गरेकामा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीलगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जनचेतनामूलक लघुनाटक ‘सन्देश’ विशेष प्रदर्शनी तथा ख्यातिप्राप्त कलाकारबाट विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर