प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा छ : विश्व बैङ्क — OSNepal

प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा छ : विश्व बैङ्क

LC (KTM) May 24, 2024 0

वासिङ्टन, ११ जेठ । प्यालेस्टिनी प्राधिकरणले वित्तीय पतनको सम्भावनाको सामना गरिरहेको विश्व बैङ्कले जनाएको छ । गाजा युद्धको पृष्ठभूमिमा राजस्व स्रोतहरूको अभाव हुनुका साथै आर्थिक गतिविधिहरू खस्किरहेकाले यस्तो भएको बैङ्कले जनाएको छ ।प्यालेस्टिनी प्राधिकरणको वित्तीय अवस्था विगत तीन महिनामा नाटकीय रूपमा बिग्रिएकाले वित्तीय पतनको जोखिमलाई बढाएको बैङ्कले शुक्रबार जार िविज्ञप्तिमार्फत जानकारी गराएको हो ।

बैङ्कका अनुसार प्यालेस्टिनी प्राधिकरणलाई तिर्नुपर्ने निकासी राजस्व हस्तान्तरणमा कमी र आर्थिक गतिविधिमा ठूलो गिरावटका कारण राजस्व स्रोतहरूमा अत्यधिक कमी आएको छ ।सन् २०२३ को अन्त्यमा ६८ करोड २० लाख अमेरिकी डलर रहेको कोष अन्तर आगामी महिनाहरूमा दोब्बर भई प्यालेष्टिनी प्राधिकरणको घाटा १.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
प्यालेस्टिनी अर्थतन्त्र ६.५ देखि ९.६ प्रतिशतको बिचमा सङ्कुचित हुने अनुमान गरिएकोमा बैङ्कका दृष्टिकोणसमेत युद्ध लम्बिँदै जाँदा अनिश्चित बनेका छन् ।बढ्दो विदेशी सहायता र सार्वजनिक कर्मचारी र आपूर्तिकर्ताको थप बक्यौता जम्मा गर्नु प्यालेस्टिनी प्राधिकरणका लागि उपलब्ध वित्तीय विकल्पहरू मात्र भएको बैङ्कले जनाएको छ ।

दक्षिण इजरायलमा अक्टोबर ७ मा भएको प्यालेष्टिनी इस्लामिक समूह हमासको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।इजरायली अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कअनुसार गाजामा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।आक्रमणपछि हमासले २५२ जनालाई बन्धक बनाएका थिए, जसमध्ये १२४ जना गाजामा रहेका र तीमध्ये पनि ३७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

यसैगरी हमासको नियन्त्रणमा रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजामा कम्तीमा ३५ हजार ८०० मानिस मारिएकोमा अधिकांश महिला र बालबालिका छन् ।हमास र इजरायलबीचको लडाईँका कारण पछिल्लो समय इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैङ्कमा पनि हिंसा बढेको छ । वेस्ट वैङ्कमा प्यालेस्टिनी प्राधिकरणले सीमितरूपमा प्रशासनिक उपस्थिति रहेको छ ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टोबर ७ देखि कम्तिमा ५१८ जना प्यालेस्टिनीहरू इजरायली सेना वा वेस्ट बैङ्क क्षेत्रमा बसोबास गर्ने इजरायलीद्वारा मारिएका छन् ।उक्त अवधिमा प्यालेस्टिनी समूहले गरेका आक्रमणमा वेस्ट बैङ्कमा कम्तिमा १२ इजरायलीको ज्यान गएको छ ।

बैङ्कका अनुसार सन् २०२३ अक्टोबरदेखि युद्धका कारण प्यालेस्टिनी अर्थतन्त्र आएको मन्दीपछि करिब पाँच लाख व्यक्तिले रोजगारी गुमाएका छन् ।यो अवधिमा गाजा क्षेत्र र वेस्ट बैङ्कमा बसोबास गर्ने क्रमशः दुई लाख र एक लाख ५० हजार मानिसहरूले रोजगारी गुमाएको अनुमान गरिएको छ । यसका कारण गरिबी बढेकाले हाल लगभग हरेक गाजावासी गरिबीमा बाँचिरहेको बैङ्कले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर