काठमाडौँ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्ष पदका लागि कुमार चिमोरियाको उम्मेद्वारी घोषणा गरेका छन् । हाम्रो अटोमोबाइल प्रा.लि.का सञ्चालक समेत रहेका चिमोरियाले आगामी जेठ २६ गते हुने अधिबेशनमा अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गर्दै सोमबार उम्मेद्वारी घोषणा गरेका हुन् । आफूले निर्वाचन जिते बैँक तथा वित्तीय संस्थाहरुले नयाँलाई गाडी र सेकेण्ड ह्याण्ड गाडीलाई कवाडी भन्ने दृष्टिकोणलाई अन्त्य गर्न पहल गर्ने बताएका छन् । उम्मेद्वारी घोषणा सँगै चुनावी एजेण्डा सार्वजनिक गरेका चिमोरियाले सातै प्रदेशको यातायात व्यवस्था कार्यालयमा हुने बेथिति र कुरितीको विरुद्ध बुलन्द गर्ने बताएका छन् ।
त्यस्तै, चिमोरियाले रिकन्डिसन व्यवसायीहरुलाई कर तिरे अनुसारको सम्मानजनक व्यवहारका लागि वातावरण निर्माणमा भूमिका खेल्ने, व्यवसायीको साझा समस्या समाधानका लागि काम गर्ने लगायतका चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । काभ्रेमा जन्मेका चिमोरिया नेपाल रिकन्डिसन अटो व्यवसायी संघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनका प्रतिस्प्रर्धी रमेश प्रसाद कोइराला संघका वर्तमान अध्यक्ष हुन् भने उनले एक कार्यकाल कार्यवहाक अध्यक्ष बनेर समेत संघको नेतृत्व गरिसकेका छन् ।