काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले सीमित स्रोत र साधनकाबीच सरकार पर्यटन प्रवर्द्धनमा लागेको बताउनुभएको छ । रसुवा–नुवाकोट पर्यटन समाजद्धारा आयोजित ‘रसुवा र नुवाकोटका पर्यटकीय सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रममा उहाँले थोरै बजेटकाबीच सरकारले पर्यटन प्रवद्र्धनमा काम गरिरहेको छ भन्नुभयो । “पर्यटन क्षेत्रमा विदेशीलाई मात्र लक्षित गरेर योजना बनाएर हुँदैन, आन्तरिक पर्यटकलाईसमेत प्रवद्र्धन गर्ने खालको योजना आवश्यक छ,” उहाँलेभन्नुभयो ।
मन्त्री तामाङले नेपालको विकासको मुख्य आधार जलस्रोत र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । रसुवा र नुवाकोटको पर्यटन विकासमा सहयोग गर्ने उहाँको भनाइ थियो । मन्त्री तामाङले मध्यपहाडी सडक आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सरकारले राखेको बताउनुभयो । छोटो दुरीका पर्यटक गन्तव्यको विकासमा मन्त्रालय लागेको उहाँको भनाइ छ । उहाँले सरकारले कर्णाली प्रदेशको पर्यटनलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
सहसचिव रुद्रसिंह तामाङले नुवाकोट र रसुवामा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र रहेकाले त्यसको प्रवद्र्धनमा तीनै तहका सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो । नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पर्यटकीय गन्तव्य भएका क्षेत्रको खोज र अनुसन्धान गरी त्यसको विकासमा नगरपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिका स्थानीय संस्कृति संरक्षणमा लागेको बताउनुभयो । नुवाकोटको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले होम स्टेको विकासका लागि गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शिवपुरी क्षेत्रसँग जोडिएको आफ्नो गाउँपालिकाको पर्यटकलाई अगाडि बढाउनका लागि गाउँपालिका लागिपरेको बताउनुभयो । नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले तादीलाई पर्वतीय पर्यटनको केन्द्र बनाउनका लागि आफूले योजना अगाडि सारेको उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी दीपक महतले सगरमाथा र अन्नपूर्ण क्षेत्रपछि धेरै पर्यटक आवतजावत गर्ने लाङटाङ क्षेत्रको पर्यटन जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यो बढ्न नसकेको बताउनुभयो ।
विसं २०६७ मा स्थापना भएको रसुवा–नुवाकोट पर्यटन समाजले रसुवा र नुवाकोट क्षेत्रमा रहेका पर्यटकीयस्थलको खोज, अनुसन्धान गरी पर्यटन प्रवद्र्धनमा काम गरिरहेको सो समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।अध्यक्ष न्यौपानेले पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गरी आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि समाज लागेको बताउनुभयो । समाजकी सचिव ऋतु ग्यामदाङले घलेगढी, सूर्यगढी, बेलकोटगढी, बेत्रावती, गोसाइँकुण्ड, नुवाकोट दरबारलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा जुट्न नुवाकोट र रसुवाका पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।