काठमाडौँ, ३ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उहाँले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गर्नुभयो । “निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु । तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला । ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला”, उहाँले भन्नुभयो ।
त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०÷८१ को समीक्षा र आगामी आव २०८१÷८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गर्नुभएको निगमले जनाएको छ । बैठकमा निगमका कार्यकारी अध्यक्षलगायत नायब महाप्रबन्धक (प्रा), निगमका सम्पूर्ण विभागीय प्रमुख, निगमका दसवटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुख र निगममा क्रियाशील टे«ड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभएको थियो भने बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ ।