गोदावरी (कैलाली), ३ चैतः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभएको छ ।आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उहाँले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान गर्न आवश्यक रहेको बताउँदै सो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
पछिल्लो समय विदेशी गहनाहरूले बजार लिइरहेको अवस्थामा नेपाली गहना ओझेलमा पर्न सक्ने खतरा रहेको उहाँको भनाइ थियो । उहाँले परम्परागत मौलिक संस्कृति झल्किने गरगहना लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
“सुन चाँदी व्यवसायीका थुप्रै समस्या छन् तर समस्याका बाबजुद पनि तपाईँहरू अगाडि बढ्नुभएको छ, प्रदेश सरकार तपाईँहरूको पेसामा आँच आउन दिन्न”, उहाँले भन्नुभयो ।
मुलुकको अर्थतन्त्रमा मात्र नभइ राष्ट्रको समृद्धिका लागि सुन चाँदी व्यवसायीको भूमिका अपरिहार्य भएको उहाँले बताउनुभयो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सरकारले परम्परागत गहनालाई मान्यता प्रदान गर्नुपर्ने बताउँदै उहाँले यसका लागि आवश्यक कानुनसमेत बनाउनुपर्ने बताउनुभयो ।