चितवन-पश्चिम चितवनको पदमोदय युवा क्लब पदमपोखरीद्वारा आयोजित पदमोदय जिल्लास्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि हिमाल युवा क्लव भरतपुर–१३ चम्पानगरले जितेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा आफ्नै वडाको अर्को क्लव राइनो कुन्ज खेलकुद समिति, भरतपुर–१३ लाई ३–१ को सेटमा पराजित गर्दै हिमालले उपाधि जितेको हो । उपाधिसंगै हिमाल युवा क्लवले ५० हजार रुपैयाँ, मेडल, प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको राइनो कुञ्जले ३० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त ग¥यो । फाइनल प्रतिस्पर्धामा पहिलो सेट हिमालले २५–१५, दोस्रो सेट २५–२१ ले जित्यो भने तेस्रो सेटमा राइनो कुञ्जले २५–१४ ले जित्दै खेलमा फर्किन प्रयास गरेको थियो । चौथो सेटमा हिमालले २५–१९ ले जितेपछि ३–१ को नतिजा निकाल्दै उपाधि माथि कब्जा जमाएको हो ।
फाइनल प्रतिस्पर्धाको खेलमा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । यसअघि आजै दुई सेमीफाइनल खेल भएका थिए । पहिलो सेमीफाइनलमा राइनो कुन्ज खेलकुद समिति, भरतपुर–१३ ले कन्चन समाज विकास परिषद, भरतपुर–२१ लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै दोस्रो सेमीफाइनलमा बाग्लुङ समाज, गैंडाकोटलाई ३–२ को सेटमा पराजित गर्दै हिमाल युवा क्लब, चम्पानगर फाइनल प्रवेश गरेको थियो । यो सेमीफाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट हिमालले २७–२५ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेटमा बाग्लुङ समाजले ठिक विपरीत २७–२५ ले जित्दै खेलमा फर्किएको थियो । तेस्रो सेट बाग्लुङ समाजले २५–१४ ले जित्दै फाइनल नजिक पुगेको थियो । तर चौथो सेट हिमालले २५–१७ ले जितेपछि खेल २–२ को बराबरी अवस्थामा पुगेको जियो । पाँचौं तथा निर्णायक सेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै हिमालले १५–७ ले जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
सेमीफाइनलमा पराजित भएका बाग्लुङ समाज गैंडाकोट र कन्चन समाज विकास परिषद, भरतपुर–२१ ले १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा बाग्लुङ समाज गैंडाकोटका रोमन विष्ट उत्कृष्ट स्पाईकरको अवार्ड पायो भने राइनो कुञ्जका सुमन आले उत्कृष्ट लिब्रोको अवार्ड जिते ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल वाइबी पौडेलले चितवन र छिमकेी जिल्लाहरुमा खेलकुद गतिविधलाई प्रवद्र्धन गर्न सेन्ट्रल कलेज सधै साथमा रहेको बताए । उनले आगामि दिनमा पनि यस्तै सहकार्य जारी राख्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै शिवालय टोल विकास संस्थाका अध्यक्ष धिरन लोहनी पद्मोदय भलिबलको इतिहासको बारेमा प्रष्ट पारेका थिए । पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । प्रतियोगिताका संयोजक निशान पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
पद्मोदय युवा क्लबले २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर यो प्रतियोगिता गर्दै आइरहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रारम्भ भएको केही दिनमै पर्यटकीय नगरी पटिहानी पदमपोखरीस्थित क्लव परिसरमा यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरिएको हो । झण्डै ४ दशकको ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।