भरतपुर (चितवन), २७ मङ्सिर : चेपाङ समुदाय शिक्षाको क्षेत्रमा अन्य समुदायभन्दा पछाडि छन् । उच्च शिक्षाका साथै डाक्टर, इन्जिनियर जस्ता विषय अध्ययन गर्ने व्यक्ति पाउनै मुस्किल हुन्छ । पछिल्लो समय यस समुदायका केही व्यक्ति उच्च शिक्षा अध्ययन गरेर प्रतिष्ठित जागिरमार्फत समुदायको सेवामा लाग्न थालेका छन् । त्यसैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–१ चौकीडाँडाका २३ वर्षीय होमराज चेपाङ । उहाँले इन्जिनियरिङ गरेर आफ्नै गाउँका नागरिकको सेवामा खटिनुभएको छ ।
होमराज गत वर्षदेखि इच्छाकामना गाउँपालिका–२ मा सब–इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ । इन्जिनियर बन्न उहाँलाई अरु समुदायजस्तो सहज थिएन । “घरको दयनीय आर्थिक अवस्था, बिहान–बेलुका के खाने भन्ने चिन्ता रहेको परिवारमा इन्जिनियर त कल्पनाको विषय नै थियो”, उहाँले भन्नुभयो, “पढ्यो भने शिक्षक त बन्छ होला भन्ने बुवाआमाले सोच्नुभएको थियो । इन्जिनियर भन्ने त उहाँहरुलाई थाहै थिएन ।”
जिल्लाको रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रले होमराजलाई सहयोग गरेको थियो । कालिका नगरपालिका–९ स्थित चर्तुमुखी माध्यामिक विद्यालयबाट एसएलसी दिएर बसेको बेला केन्द्रका अध्यक्ष केपीकिरण शर्मासँग भेट भएपछि उच्च शिक्षाको बाटो खुलेको उहाँले बताउनुभयो । “शर्मासँगको भेटमा उच्च शिक्षामा विज्ञान विषय पढ्ने इच्छा जाहेर गरेको थिएँ । शर्माले संरक्षण केन्द्रमा राखेर रत्ननगर–१२ स्थित पञ्चकन्या माध्यामिक विद्यालयमा कक्षा १२ सम्म विज्ञान विषय अध्ययनका लागि भर्ना गरिदिनुभयो”, होमरमजले भन्नुभयो ।
होमराजलाई विज्ञान विषय अध्ययन गराउन धेरैसँग सहयोग मागेको शर्माले बताउनुभयो । “सामाजिक सञ्जालमार्फत मागिएको सहयोगमा धेरैले साथ दिनुभयो । गणित सानैदेखि होमराजको रुचिको विषय थियो”, उहाँले भन्नुभयो ।
कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर पास भएपछि होमराजलाई इन्जिनियर विषय पढ्ने इच्छा भएकाले सामाजिक सञ्जालमार्फत पुनः सहयोग मागेर भरतपुरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना गरिदिएको शर्माले सुनाउनुभयो । “केही समयपछि विदेशमा रहनुभएका एक जना साथीले सहयोग गर्नुभयो र होमराजलाई इन्जिनियर अध्ययन गराउन सफल भयौँ”, उहाँले भन्नुभयो ।
निरन्तरको लगनशीलता र मेहनतले होमराजले इन्जिनियर पास गर्नुभयो । उहाँ चेपाङ समुदायबाट इन्जिनियर पास गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँसँगै धादिङका मनिष चेपाङले पनि सोही वर्ष इन्जिनियरिङ पास गर्नुभएको थियो । इन्जिनियर पास गरेकै महिनामा होमराजले गाउँपालिकामा जागिर पाउनुभयो । “गाउँपालिकाले इन्जिनियरका लागि आवेदन माग गरेको थियो । आवेदन दिएँ र छनोट पनि भएँ”, होमराजले भन्नुभयो । अहिले इच्छाकामना–२ को चेपाङ समुदायमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
“म स्थानीय भएकाले पनि काम गर्दा सबैबाट साथ र सहयोग पाएको छु । यसले मलाई निकै खुसी लाग्छ”, होमराजले भन्नुभयो । उहाँले आफू इन्जिनियर भएर गाउँमा सेवा गरेकाले पढिरहेका भाइबहिनीलाई पनि हौसला मिलेको बताउनुभयो । “आफ्नै समुदाय भएकाले काम गर्न सजिलो छ । भाषा बुझ्न र बुझाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो ।
होमराजले गाउँमा जागिरसँगै समुदायमा सरकारी सेवा र सुविधाका बिषयमा सबैलाई जानकारी गराउने गरेको बताउनुभयो । “सिटिइभिटीमा चेपाङ समुदायबाट तीनवर्षे प्राविधिक शिक्षा लिन चाहनेले निःशुल्क पढ्न पाइन्छ । मैले यो कुरा सबै विद्यार्थी भाइबहिनीलाई भन्ने गरेको छु । भविष्यमा पनि आफ्नै गाउँठाउँमा रहेर सेवा गर्ने चाहना छ”, उहाँले भन्नुभयो ।
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष शर्माले होमराजले इन्जिनियर पढेर गाउँपालिकामा जागिर खाँदै चेपाङ समुदायमा पैरवीसमेत गरिरहेका भन्दै यसले आफूहरूलाई खुसीसँगै उत्साह जागेको बताउनुभयो । उहाँले चेपाङ समुदायमा शिक्षामार्फत छिटो सुधार गर्न सकिन्छ भन्ने उदाहरण होमराज बनेको बताउनुभयो । उहाँका अनुसार केन्द्रमा अहिले एक सय ४२ चेपाङ बालबालिका आवासीयरूपमा अध्ययन गरिरहेका छन् । पछिल्लो समय चेपाङ समुदायबाट प्राविधिक शिक्षा पढ्ने बढ्दै गएको शर्माको भनाइ थियो ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ समुदायका लागि होमराज उदाहरण बनको बताउनुभयो । “होमराजसँग केन्द्रमा गाउँपालिका अध्यक्ष हुनुभन्दा अघि नै भेट भएको थियो”, उहाँले भन्नुभयो, “अध्यक्ष बनेपछि पालिकामा रोजगार दिने अवसर मिल्यो ।” गाउँपालिकाले होमराजलाई चेपाङ समुदाय र स्थानीय भएकाले प्राथमिकता दिएको भन्दै उहाँले त्यो भन्दा धेरै उहाँसँग भएको योग्यता र क्षमताले पहिलो नम्बरमा छनोट भएका जानकारी दिनुभयो ।
होमराजले गाउँमा सेवा गर्दा सका अन्य बालबालिकमा पनि प्रेरणा मिलेको अध्यक्ष गुरुङले बताउनुभयो । “हामी पनि पढ्न सक्दारहेछौँ । पढेपछि जागिर पाइने रहेछ भन्ने नयाँ पिँढीलाई सन्देश गएको छ”, उहाँले भन्नुभयो, “यस समुदायमा पढ्ने र पढाउने बानीको विकास हुनेछ ।” गाउँपालिकामा तीन÷चार जना चेपाङ समुदायका कर्मचारी रहेको उहाँले बताउनुभयो । एचए र नर्सलाई पनि गाउँपालिकाले रोजगार दिएको जनाउँदै अध्यक्ष गुरुङले उनीहरू सबैले इमान्दारिताका साथ काम गरिरहेका बताउनुभयो ।
पछिल्लो समय उच्च शिक्षासँगै प्राविधिक विषयतर्फ यस समुदायको आकर्षण बढेको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाले गत वर्ष विभिन्न समुदायका विपन्न र चेपाङलाई छात्रवृत्ति प्रदान गरेको थियो । “गत वर्ष ५२ जनालाई छात्रवृत्ति उपलब्ध गराएका छौँ । छात्रवृत्तिका कारण कक्षा १२ सम्म र प्राविधिक शिक्षा पढ्न उनीहरूलाई सहज भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । इच्छाकामना गाउँपालिकामा मात्र झण्डै १२ हजार चेपाङ समुदायको बसोबास छ ।