वीरगञ्ज (पर्सा), १७ मङ्सिर : वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रसूतिपश्चात् प्रदान गरिने चिकित्सा सेवा कक्ष निर्माण गर्ने आज त्रिपक्षीय सम्झौता भएको छ । गर्भवतीको बढ्दो चापका कारण प्रसूति हुने आमा र बच्चालाई राख्न हालको कक्ष पर्याप्त नभएकाले थप २५ शय्याको नयाँ कक्ष निर्माण गर्न नारायणी अस्पताल, वीरगञ्ज महानगरपालिका र जापानको कन्साई नेरोलेक पेन्टबीच सम्झौता भएको हो ।
उक्त कक्ष निर्माणको जिम्मा वीरगञ्जमा रहेको कन्साई नेरोलेक पेन्ट लिमिटेडले लिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा कन्साई नेरोलेक पेन्टले रु ४० लाखको लागतमा अस्पतालमा कक्ष निर्माण गर्ने सम्झौता भएको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो ।
उक्त कक्ष यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न ठेकेदारसँग सम्झौता गरिएको वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताउनुभयो । सम्झौतापत्रमा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साह र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्राले हस्ताक्षर गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अस्पतालमा निर्माण हुने उक्त कक्षको गुणस्तरियतामा कुनै सम्झौता नहुने बताउँदै गुणस्तरीय र बिरामी मैत्री संरचना निर्माण गर्न निर्देशन दिनुभयो ।