विपिनका बाआमा भन्नुहुन्छ– समाचार हेर्दै रात बित्छ — OSNepal

विपिनका बाआमा भन्नुहुन्छ– समाचार हेर्दै रात बित्छ

LC (KTM) November 30, 2023 0

दोधारा चाँदनी (कञ्चनपुर- इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उहाँका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उहाँका बाआमा साह्रै चिन्तित हुनुहुन्छ ।   गृहजिल्ला आइपुग्नुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उहाँहरूले आग्रह गर्नुभएको छ । “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भन्नुभयो, “समाचार हेर्र्दै दिन बित्छ ।”

विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गर्नुभएको छ । उहाँले रासससँग भन्नुभयो, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर