एघार घण्टासम्म पनि अवरुद्ध भीमदत्त राजमार्ग नखुल्दा सात जिल्लाका हजारौँ यात्रु अलपत्र परे — OSNepal

एघार घण्टासम्म पनि अवरुद्ध भीमदत्त राजमार्ग नखुल्दा सात जिल्लाका हजारौँ यात्रु अलपत्र परे

LC (KTM) July 24, 2021 0

डडेल्धुरा, ९ साउन – एघार घण्टा बितिसक्दा पनि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजाराँै यात्रु अलपत्र परेका छन् । जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो नरोकिएका कारण राजमार्ग खुलाउनु समस्या भएको प्रहरीले जनाएको छ ।

राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज बिहान ८ बजेदेखि अलपत्र परेका हुन् । सडकमाथिबाट निरन्तर पहिरो जाँदा राजमार्ग सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

मोड सुधार योजनाले राजमार्गमा पहिराको जोखिम -सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको सात पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ । मोड सुधार योजनाका कारण सडकमा पहिरो र हिलाम्य भएकाले राजमार्ग जोखिमपूर्ण बन्दै गएको हो ।

ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडक जीर्ण हुँदै गएको छ । सडकको बीच–बीचमा ठूला–ठूला खाल्डा–खुल्डी खनिएकाले यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र एैरीले बताउनुभयो । भीमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारले यस वर्ष अन्तिममा सडकको मर्मत गर्ने र मोड सुधार योजनाका कारण पनि सडक जोखिमपूर्ण बन्दै गएको चालकको गुनासो छ ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम हुन नसक्दा समस्या उत्पन्न भएको हो । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उहाँको भनाइ छ । साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यो राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर