बाँच्ने उपाय केही नभएपछि कोरोना रोक्न आग्रह गर्दै गाउँलेले कालिका माई देवीलाई चढाए बोका बलि — OSNepal

बाँच्ने उपाय केही नभएपछि कोरोना रोक्न आग्रह गर्दै गाउँलेले कालिका माई देवीलाई चढाए बोका बलि

LC (KTM) May 16, 2021 0

जाजरकोट, २ जेठ – कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो ।

नलगाडमा एक जनप्रतिनिधको मृ त्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।”

यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताउनुभयो

मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताउनुभयो । पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उहाँले बताउनुभयो । हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवताको शरणमा गएका थिए । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर