लुम्बिनी, १६ कात्तिक : नेपाल भारत सीमा नाका बेलहियामा भारतीय नम्बर प्लेटको सवारीसाधन जथाभावी पार्किङ गरिएकाले तिनलाई हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर–पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटको यात्रुबाहक सवारीसाधन अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहिया र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा मङ्गलबारदेखि अव्यवस्थितरुपमा पार्किङ गरी राखिएका सवारीसाधन हटाउन सुरु गरिएको उहाँको भनाइ थियोे ।“जथाभावी पार्किङ गरी सवारीसाधनमा यात्रु भर्ने कार्य भइरहेकाले सवारीसाधन जाम भएर दुर्घटना हुने सम्भावना बढेको भन्ने नागरिकको गुनासो बढेकाले भारतीय नम्बर प्लेटका सवारी साधनलाई हटाउन अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियालाई पत्र पठाइएको र हिजोदेखि हटाउने कार्य सुरु गरिएको हो”, वडाध्यक्ष पोखरेलले भन्नुभयो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियाका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज सेनले भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित पार्किङका कारण दुर्घटना हुने सम्भावना बढेको भन्ने वडा कार्यालय र स्थानीयवासीबाट गुनासो आएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको बताउनुभयो । उहाँले सीमा नाकामा दैनिक कम्तीमा सात –आठवटा भारतीय सवारीसाधन अव्यवस्थितरुपमा पार्किङ गरेर यात्रुहरु बोक्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएपछि हटाउन सुरु गरिएको जानकारी दिनुभयो ।
प्रहरी सहायक निरीक्षक सेनले भन्नुभयो, “यसअघि पनि अनावश्यक रुपमा पार्किङ नगर्न भारतीय सवारीसाधन (ट्याक्सी)लाई सम्झाइबुझाई गरिएको थियो तर अटेर गरेपछि हटाउन सुरु गरिएको हो ।” उहाँले यो कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिका–१ का प्रशान्त थापा क्षेत्रीले अनावश्यकरुपमा पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधनका कारण नेपाली सवारीसाधनलाई समेत मर्का पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार सुविधा गराउने र यात्रु नपाउञ्जेलसम्म अव्यवस्थित रुपमा पार्किङ गरेर सवारीसाधन राखिँदा ट्राफिक व्यवस्थापनमासमेत समस्या थपिएको छ । यसतर्फ नगरपालिका, वडा कार्यालय र ट्राफिक प्रहरीले ध्यान दिनु सराहनीय कार्य हो ।”
––––