एक्काइस मुहारचित्रमा ओली — OSNepal

एक्काइस मुहारचित्रमा ओली

LC (KTM) November 02, 2023 0
काठमाडौँ –  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका २१ मुहार चित्र यतिबेला नेपाल कलापरिषद् बबरमहलमा प्रदर्शनमा राखिएका छन् । उहाँलाई प्रत्यक्ष हेरेर कलाकारले क्यान्भासमा भरेका चित्रले ओलीको जीवनकालका हरेक मोडलाई झल्काएको छ । चित्रमा अध्यक्ष ओलीका राजनीतिक जीवनकालका आरोहअवरोह र राजनीतिक उतारचढाव देख्न पाइन्छ ।
कलाकार राजेश महर्जनले बनाएका छ्वाली आर्टमा देश प्रेमसमेत देखाइएको छ । छ्वालीमा ओलीको तस्वीर दुरुस्त पाइन्थ्यो । चित्र सिर्जनाकर्ता महर्जनले मुहार चित्रको छेउमा चन्द्र र सूर्यसहितको सिर्जनाले देश प्रेमको भाव झल्काएको पाइन्थ्यो ।
महर्जनले भन्नुभयो, “ओलीको मुहआर चित्रसँगै एउटै क्यान्भासमा चन्द्र र सूर्य नेपाली झण्डाको प्रतिक बनाएको छु, यो नेपालको शान हो, त्यसलाई विम्ब बनाएर देशप्रेम झल्काउने प्रयास गरेको छु ।”
त्यस्तै अर्का कलाकार रत्नकाजी शाक्यले ओलीको १४ वर्षे जेल जीवनलाई स्मरण गराउने गरी क्यान्भासमा उहाँको चित्र भर्नुभएको छ । उहाँले भन्नुभयो, “आफ्नो पनमा जेल बस्दाको भाव बनाएको हुँ । उक्त सिर्जनाले जेलमा १४ वर्ष बिताउँदाको आभाष गराउँछ ।”
सात महिनाअघि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला कार्यशाला आयोजना गरिएको थियो । त्यसको संयोजन कलाकार सुष्माराज भण्डारीले गर्नुभएको थियो । अध्यक्ष  ओलीलाई त्यही बेला कलाकारसामु उभ्याइएको थियो । उहाँलाई त्यहाँ प्रत्यक्षरुपमा हेर्दै कलाकारले मुहार चित्रलाई क्यान्भास रङ्ग्याउनुभएको थियो । कलाकार दीपेन्द्रमान बनेपालीले ओलीको गम्भीर मुद्राको मुहार चित्र बनाउनुभएको छ ।
अर्का कलाकार एनवी गुरुङ सिर्जनामा केही नियाल्दै गरेको तर चिन्तन मनन गरिरहेको भाव देख्न सकिन्छ । सात महिना अघिका ओलीका मुहार चित्र नै अहिले प्रदर्शनीमा राखिएका हुन् । यी सबै मुहार चित्र हेरेर अध्यक्ष ओली दङ्ग पर्नुभयो । चित्र नियाल्दै उहाँले भन्नुभयो, “मलाई नै तस्वीरमा उतार्नु भएछ, तस्वीरमा धेरै प्रकारका भाव देखेँ, यसरी कला सिर्जना गर्नुभएकामा तपाईंहरुलाई धन्यवाद ।”
कलाकार सुष्माराज भण्डारीको एकल चित्रकला प्रदर्शनीसँगै ओलीका मुहार चित्र पनि राखिएका छन् । सो क्रममा कलाकारहरुले आफूले बनाएका चित्रका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर