काठमाडौ । जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्र तीन दिने निःशुल्क मुटु रोग शिविरबाट यहाँका दुई हजार तीन सय ७३ लाभान्वित भएका छन् ।
गाउँगाउँमा मुटु रोगी बढे पनि अस्पताल पुगेर उपचार गराउने अधिकांश स्थानीयवासीको आर्थिक अवस्था निकै कमजोर रहेको छ । समयमै उपचार पाउन सकेका छैन । हिमाका नागरिकको मागअनुसार मुटु रोगसम्बन्धी विशेज्ञ डाक्टरबाट उपचार र स्वास्थ्य जाँच गरिएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादेर शाहीले भन्नुभयो, “गाउँपालिकाले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दे आएको छ । मेरो पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य हो । ” हालसम्म करिब सातवटा विभिन्न रोगको शिविर सञ्चालन भई सम्पन्न भइसकेको उहाँको भनाइ छ ।
हिमाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा पालिकाले गरिदिने नीति तथा कार्यक्रम बजेटबाट पारित भइसकेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको मुटुको अवस्था थाहा पाउनको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा दुई हजार तीन सय ७३ विद्यार्थी र अन्य स्थानीयवासीको मुटुको परीक्षण गरी उपचार गरिएको छ । परीक्षण गरिएकामध्ये १३ जनाको निःशुल्क शल्यक्रियाको लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा रेफर गरिएको गाउँपालिका अध्यक्ष शाहीले दिनुभयो ।