रसुवामा पहिलोपटक व्यावसायिक च्याउखेतीको उत्पादन शुरू — OSNepal

रसुवामा पहिलोपटक व्यावसायिक च्याउखेतीको उत्पादन शुरू

LC (KTM) July 23, 2021 0

रसुवा- उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाका साथै लाङ्टाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथमपटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो ।

रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि डेढ महिनासम्ममा तयार हुने कृषि प्राविधिकले बताएका छन् । परम्परागतरूपले उपभोग गर्दै आएका जङ्गली च्याउ लोप हुँदै गएको अवस्थामा घरेलु च्याउले माग आपूर्तिमा सहज ल्याउने अपेक्षा गरिएको छ ।

समुद्र सहतदेखि एक हजार ९०० मिटर उचाइ धुञ्चेगाउँ र इमरूङबीच बुद्ध स्तूपको माथिल्ला भागमा उत्पादन कार्य अगाडि बढेको हो । एपिएग्रो नामक व्यावसायिक फार्ममार्फत च्याउखेती शुरू भएको छ । सो फार्मले मासुका लागि कुखुरापालन, ताजा अण्डा उत्पादनका साथै तरकारी खेतीजस्ता विविध उत्पादनमूलक कार्यका लागि पूर्वाधार निर्माण गरी रोपण तथा व्यवस्थापनको काम अगाडि बढाइसकेको छ ।

फार्मका प्रबन्ध सञ्चालक प्रमोदकुमार तितुङका अनुसार कृषि प्राविधिकको परामर्शमा किसानलाई व्यवसायको नमूना देखाई आयआर्जनको जागरणमा सहयोग पु¥याउने अभिप्रायले नमूना कृषि फार्मका रूपमा विकसित गर्न लागिएको हो । पूर्वाधार निर्माणका लागि खर्च भएको रु ८५ लाखमध्ये कृषि ज्ञान केन्द्रले रु २५ लाख अनुदान सहयोग प्रदान गरेको छ । फार्मभित्र खसी तथा बोकापालन गर्ने गृहकार्यसमेत अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर