चितवन, २१ असोज : यहाँका थारू महिलाहरुले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित चौधरीका अनुसार यो व्रत वा उपवासका क्रममा जितवहान भगवान्को कथा र महिमा सुन्ने गरिन्छ ।
थारू महिलाहरुको ठूलो चाडका रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । शनिबार थारू समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदै जितिया मनाएका छन् । बिहानै नुहाएर बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व मनाउने गरेको उहाँले जानकारी दिनुभयो । जितिया आउनुअघि नै जिल्लाका थारू समुदायमा चहलपहल र रमझम सुरु भएको थियो । थारूहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा यतिबेला जितियाको विशेष उल्लास छ । थारू समुदायका महिलाहरु खुल्ला तरिकाले चोकचोकमा झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाइरहेको उहाँले बताउनुभयो । विगतका वर्षहरुमा झैँ यस वर्ष पनि बिहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ ।
जिल्लाको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुने गर्दछ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । शुक्रबार सप्तमीको दिन भएकाले महिलाहरूले बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्यसपछि मात्रै खानेकुरा खाएका थिए ।
अष्टमीको दिनमा महिलाहरू बिहानै नुहाएर सफा र चोखो कपडा लगाई पानी पनि नखाई निराहार ‘उपवास’ व्रत बसी झाम्टा नाच नाचेर मनाउने गरेको महिला अगुवा चन्द्रकुमारी चौधरीले बताउनुभयो । महिलाहरू सांस्कृतिक वेशभूषा लगाई दिनभरि नै झाम्टा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख व्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।
रूखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा, बिहान भिजाएको मासको दाल र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौँ लगाएर सुनाउँछ । कथाले अनुशासित र संस्कार सिकाउने गर्दछ । कथा सकिएपछि सबै जना घर गएर ‘फलाहार’ गर्छन् । उहाँले भन्नुभयो, “भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराहार प्रतिमूर्ति (जसलाई थारू भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडा र बेलपत्रले पूजा गर्छन् ।”
खोलाबाट घर आइसके पछि व्रतालुहरुले दही, चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खान्कीको केही अंश चढाएरमात्र खाने चौधरीले बताउनुभयो । त्यसलाई ‘पारन’ भनिन्छ । यस दिन मासु भात पनि खाने प्रचलन रहेको छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारू समुदायले यो पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।
सन्तानको दीर्घजीवन, सन्तान प्राप्ति तथा परिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व छ । यो पर्वले महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ । विशेषगरी विवाहित थारू महिलाले निराहार व्रत बसेर सूर्यलाई जितवाहन बाबाको नामले पूजा अर्चना गर्ने प्रचलन रहेको थारू कल्याणकारी सभा चितवनका सचिव सन्तकुमार चौधरी बताउनुहुन्छ । विवाह गरेर गएका महिलालाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ ।
विवाहित र अविवाहित दुवै महिलाहरुले यो पर्वमा व्रत लिन सक्छन् । विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् भने अविवाहित महिलाहरुले जितवाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र महिलाहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशिर्वाद दिने विश्वास छ ।
यस पर्वलाई थारू विवाहित महिलालाई माइतमा ल्याई सुःख–दुःखका कुरा साट्ने अवसरका रूपमा लिइन्छ । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको उहाँले बताउनुभयो ।
–––