काठमाडौं- लोक गायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाललाई सरकारले ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।
बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सपुत र गायिका दुलाललाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको हो ।
गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उहाँहरूलाई त्यससम्बन्धी सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको छ ।