नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखनवृत्तिमा सहभागी पत्रकारहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ का संयोजक तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौलाले प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए ।
स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ को सहयोगमा महासंघले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा प्रथम हुने इलामका नमिन ढकाललाई ११ हजार रुपैयाँ, द्वितीय हुने ताप्लेजुङका खगेन्द्र अधिकारीलाई सात हजार रुपैयाँ, तृतीय हुने झापाका हिमालचन्द्र खरेललाई पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँचथरका भीम बाँस्कोटालाई तीन हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि सिटौलाले पत्रकारिता क्षेत्रबाट खेलकुदको समग्र विकासमा टेवा पु¥याउन र खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न सहयोग गरिएको बताए । उनले पत्रकार महासंघ झापाको साझेदारीमा पुरस्कारको राशी वृद्धि गरी आगामी वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कोरोना संक्रमण भई हाल स्वास्थ्य लाभ गरेका झापाका १३ जना पत्रकारलाई महासंघ झापा शाखाको सिफारिसमा महासंघ प्रदेश समितिले लेखनवृत्ति प्रदान गरेको थियो । कोरोनाबारे सचेतना जगाउने तथा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारले निर्वाह गरेको सकारात्मक भूमिकाबारे आह्वान गरिएको लेखनवृत्तिमा सहभागीहरुलाई प्रोत्साहन स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
लेखनवृत्तिमा सहभागी झापाका पत्रकारहरु भीमा शिवाकोटी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, राजु अधिकारी, दीपेन्द्र पौडेल, तुलसी निरौला, गौरव पोखरेल, सन्तोष आचार्य, सुव्रत न्यौपाने, पुष्प बराल, विष्णु पौडेल, अनिता भेटवाल र सन्तोष न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।