प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब — OSNepal

प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब

LC (KTM) September 29, 2023 0

काठमाडौं । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले सो अभियान ल्याएका थिए ।अभियानअन्तर्गत प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नुअघि हरेक कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुपर्ने थियो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले मुख्य प्रवेशद्वारामा नै एउटा बोर्डमा केही सन्देश लेखेर टाँस्यो ।

हरेक कर्मचारीले त्यो बोर्डमा टाँसेको कुरालाई पढेर मनन गर्दै भित्र पस्नुपर्ने नियम लगाइयो । बोर्डमा लेखिएको थियो – ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार गर्न दिन्नँ र म कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ केही समय प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए पनि मुलुकमा भ्रष्टाचारको पारोमा भने कमी आएन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीहरू रंगेतहात पक्राउ गर्ने क्रममा पनि कमी नआएको प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरूको भनाइ छ । प्रधानमन्त्री कार्यालयका त्यतिखेरका एक सहसचिवले शुरूका केही समय सो अभियान प्रभावकारी भए पनि पछि तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले अभियान सफल बनाउने कार्यमा खासै ध्यान नदिएपछि अभियान असफल भएको बताए ।

लोकदर्शन रेग्मीपछि आएका मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिन नसकेको प्रधानमन्त्री कार्यालयकै अर्का एक अधिकृतले बताए । उनले भने– ‘अन्य निकायका कर्मचारीलाई पनि भ्रष्टाचार नगर्ने सन्देश दिने उद्देश्यका साथ सो अभियान ल्याइएको थियो तर मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरूले अभियानमा ध्यान नदिँदा असफल हुन पुग्यो ।’यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

उनका अनुसार प्रधानमन्त्री कार्यालयको मूल ढोकामा केही समय टाँसिएको भ्रष्टाचार गर्न नहुने व्यहोराको सो सन्देश सहितको बोर्ड पछि प्रधानमन्त्री कार्यालय पुरानै ठाउँमा सरेपछि गायव पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर