फेवाताल बसुन्धरा पार्कमा संरचना नबनाउन खबरदारी — OSNepal

फेवाताल बसुन्धरा पार्कमा संरचना नबनाउन खबरदारी

LC (KTM) September 23, 2023 0

पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् ।

पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएसँगै सरोकारवालाले खबरदारी गरेका हुन् ।

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई यससम्बन्धमा सचेत गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा फेवातालको मापदण्डभित्रै संरचना बनाउन अनुमति दिइएकोमा बिरोध जनाइएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका र कोइकाबीच समझदारी हुनु र कुनै ठुलो योजना बन्नु खुसीको कुरा हो तर, योजना बन्ने नाममा सम्पदामाथिको अतिक्रमण र गैरकानूनी काम सह्य हुन सक्दैन ।’

राज्यले विशेष प्रयोजनका लागि अधिग्रहण गरेको जग्गा अर्कै प्रयोजनमा नगरवासीको चाहना र कानूनविपरीत लगाउन नहुने सम्पदाका अध्यक्ष सुनिल पाण्डे बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर