चितवन, २७ भदौ । माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उनले जानकारी दिए ।
ऐलनी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताए । उनका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो । उनले भने, “साउनको अन्तिम साता र भदौको पहिलो सातामा गाउँगाउँमा कर सचेतना अभियान गरेका थियौँ, त्यही क्रममा अभिलेखीकरण गर्नुपर्छ भन्ने सन्देश गाउँमा पु¥याइएको थियो । सो कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो ।”
नगरपालिकाको राजस्व सङ्कलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताए । खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि पाँच सय तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि एक हजार राजस्व लिई कच्ची घर अभिलेखीकरण गरिने उनले जानकारी दिए ।
पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ । अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपत् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ । माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन् । ती घर सबैको अभिलेखीकरण गरिने छ ।