बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम — OSNepal

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

LC (KTM) September 13, 2023 0

खोटाङ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।

बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी सङ्घले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो ।

यही भदौ १० गतेदेखि सुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, ¥याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको छ । तालिममा सहभागी महिला आफँै बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफँै चोया काढ्ने गर्छन् ।

बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिक्नुभएकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बन्नुभएको छ । केन्द्रबाट आउनुभएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर जानुभएपछि अहिले प्रेलिनाले सिकाउँदै हुनुहुन्छ । तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आउनुभएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउनुहुन्छ ।

“पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ”, उहाँले भन्नुभयो, “गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो । तर अहिले सिक्दै जाँदा सम्भव हुनेरहेछ भन्ने लागेको छ । गाउँमा बाँस टन्न पाइन्छ, तालिमपश्चात यही व्यवसाय गर्ने सोच बनाएकी छु ।”

तालिममा सहभागी ३० महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नं १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छन् । तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी सङ्घकी कोषाध्यक्ष सञ्जु खत्री (बस्नेत)ले बताउनुभयो ।

“सामग्रीको बजारीकरण सङ्घले गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालोलगायत सामग्री बुन्न सिकाउने तयारी छ । तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत रु १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।”
दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ । यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ । यसअघि महिला उद्यमी सङ्घले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर