यि हुन् लुम्बिनी विकास कोषले आह्वान गरेको ठेक्कामा चलखेल गर्ने १२ कम्पनी — OSNepal

यि हुन् लुम्बिनी विकास कोषले आह्वान गरेको ठेक्कामा चलखेल गर्ने १२ कम्पनी

LC (KTM) July 22, 2021 0

लुम्बिनी विकास कोषले आह्वान गरेको विवादित ठेक्कामा चारजना व्यवसायीको अगुवाइमा १२ जनाले ठेक्का लिने चलखेल गरेको खुल्न आएको छ। कोषले गत जेठ १० मा लुम्बिनी गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निर्माण कार्य गर्न चारवटा प्याकेज तयार गरी बोलपत्र प्रकाशित गरेको थियो।

मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक साढे तीन अर्ब रुपैयाँको यो ठेक्कामा मुख्य रुपमा चारवटा ठेकेदार कम्पनी र तीअन्तर्गत तीन र दुईजनाका दरले ९ वटा कम्पनी ज्वाइन भेन्चर (जेभी) मा समावेश गरी ठेक्का मिलाउन चलखेल गरिएको हो। कोष सम्बद्ध उच्च स्रोतका अनुसार १२ जना व्यवसायीले २ देखि ५ प्रतिशतसम्म रकम घटेर ठेक्का मिलाउने तयारी गरेका छन्। त्यसअनुसार मिलेर ठेक्का हालिएको छ। कोषले बिहीबार ठेक्का खोल्दैछ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

कोष स्रोतले चार मुख्य कम्पनीमा अर्घाखाँची, बाबुल, लुम्बिनी र कमलजित रहेको जानकारी दियो। यीसँगै जेभीमा समावेश हुने कम्पनीहरूमा रमन, गजुरमुखी, एपेक्स, लामा, बुद्ध, हनुमान, राम जानकी र खानी निर्माण सेवा छन्। यी १२ वटै कम्पनीको मिलेमतोमा बोलपत्रको प्रावधान तयार गर्दा मुख्य चार कम्पनीको अनुभवलाई मात्र मिल्नेगरी बनाइएको छ।

अर्कोतिर साढे तीन अर्ब रुपैयाँको ठेक्का लगाउँदा मिलेमतोमा सुरुमै अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई रोक्ने काम गरिएको कोष स्रोतको दाबी छ। कानुनले एक अर्ब रुपैयाँभन्दा बढी रकमको ठेक्का लगाउँदा अन्तर्राष्ट्रिय रुपमा बोलपत्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ। तर, यहाँ निर्माण व्यवसायी र कोषका केही पदाधिकारीको मिलेमतोमा ठेक्कालाई एक अर्ब रुपैयाँभन्दा तल बनाएर चारवटा प्याकेजमा तयार गरिएको छ। कानुनले ठूलो रकमको ठेक्कालाई त्यसको औचित्य हेरेर ससाना टुक्रामा बनाउन पनि सुविधा दिएको छ। कानुनको यही छिद्रता प्रयोग गरेर चारवटा प्याकेजमा ठेक्का तयार पारिएको हो। ठेक्कामा मुख्य भूमिका निर्वाह गर्नेे चार कम्पनीले अहिले ककसलाई जेभीमा राख्ने भनेर सबै मिलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर