सुर्मा (बझाङ), ११ भदौ :
‘तलम्बाहै आया मष्टाजसा देउ
हप्रौँदा है गया महालिङ्ग देउ
कोडी हौँ कि कामल्या, छुई–छुई पर झाउ
कोडी नभई कामल्या भया महालिङ्ग देउ’
यो श्लोक स्व लालबहादुर बोहराको ‘सुर्मा सेरोफेरो’ नामक पुस्तकमा उल्लेख गरिएका मष्टा देवता र सोह्र बहिनीको उत्पत्तिमा आधारित बझाङी भाषाका फागको हो । श्लोकहरू अथ्र्याउँदा हिन्दू धर्मालम्बीले पुज्ने सुर्मादेवीमा तलबाट आउने मष्टा देवता र माथि हिमाल पर्वतबाट महादेव तल आउँदा शुद्ध नभएकाहरू टाढा रहने र शुद्ध भएर व्रत बसेकाहरूले स्वागत गर्ने भन्ने बुझिन्छ ।
फागका शब्दजस्तै स्थानीयवासी सुर्मादेवी विरिजातलाई धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक मान्न सकिन्छ । परम्परादेखि नै सुर्माले सामाजिक सद्भाव कायम राख्न जनमानसलाई एकतामा डो¥याउने र शुद्ध साहाकारी हुन प्रेरित गरेको फागका विभिन्न श्लोकमा पनि उल्लेख गरिएको छ ।
हरेक वर्ष श्रावण कृष्ण औँसीदेखि जनैपूर्णिमासम्म चार दिन लाग्ने सुर्मादेवीको मेलामा चौबीसै घण्टा धार्मिक र सांस्कृतिक कार्यक्रम गरिन्छ । ठकुन्नाडास्थित पाँकरगढी मन्दिर (सुर्मादेवीको मूल मन्दिर) का पुजारी धर्मराज पुजाराका अनुसार सुर्मादेवीले च्हा–च्हा (पछुतो) बोल्दै आउने र दोस्रो दिन देवीसँगै तीर्थालुहरू सुर्मा सरोवर जाँदा ८४ जुनीको पाप काटिने विश्वासले हरेक वर्ष हजारौँ तीर्थालुहरू आउने गर्छन् ।
सुर्मा सरोवर जान सुर्मा गाउँपालिकाबाट दुई दिन पैदलयात्रा गर्नुपर्छ । करिब पाँच हजार मिटरको उचाइमा रहेको सुर्मा सरोवरमा दर्शन गर्न मध्यराति मृगको भेषमा जानुपर्ने हुँदा महिला बाटोमा रजस्वला हुन सक्ने भन्दै देवीले नै जान निषेध गरिएको पुजारी पुजारा बताउनुहुन्छ ।
अहिलेको सुर्मा गाउँपालिकाको पाँकरगढीमा करिब १४ सय वर्ष अगाडि सुर्मादेवी आएर बसेको स्थानीयवासीको भनाइ छ । सुर्मा गाउँपालिका–४ का पूर्ववडाध्यक्ष पूर्णबहादुर बोहराका अनुसार थलीनौविसमा दुर्गा र पार्वतीको द्वन्द्व हुँदा सोही ठाउँबाट पाँकर (वनस्पतिको रूख) को आधा रूख ठकुन्नाडामा ल्याएपछि त्यस ठाउँको नाम पाँकरगढी राखिएको हो ।
देवीले विभिन्न भेष गरेर ल्याएको पाँगरको आधा भाग दुर्गाथली र आधा भाग सुर्मामा रहेको बताइन्छ । सुर्मा पुग्दासम्म देवीले गाई, फलफूल, थार, गरूड र अन्तमा थार (जंगली जनावर थारल) को भेषमा पाँकर ल्याएको पूर्ववडाध्यक्ष बोहरा बताउनुहुन्छ ।
थलीबाट सुर्माले चुँडालेर ल्याएको रूखको आधा भाग पाँकरगढीमा अहिले पनि सकुशल अवस्थामा छ । “हामीले यो रूख यस्तै देखेका हौँ”, सुर्मा गाउँपालिका–४ की गङ्गा पुजारा भन्नुहुन्छ, “बाजेले पनि यस्तै देखेको भन्नुहुन्थ्यो । बराजुले पनि यस्तै देखेको सुनाउनुहुन्थ्यो अरे । यो देवीको शक्तिले नै अमर रूख भएको हाम्रो बुझाइ छ ।”
गङ्गा हरेक बिहान पूजाआजाका लागि पाँकरगढी पुग्नुहुन्छ । “महिनाबारीको बेलाबाहेक अरू समय देवीकै पूजा गर्दा मनमा शान्ति मिल्छ ।” मेलाको समयमा महिनाबारी भयो भने गाउँमै बस्न नमिल्ने उहाँ सुनाउनुहुन्छ । “महिनावारी भएको बेलामा भने कसैले पनि ठकुन्नाडा बस्न पाउँदैन । देवी रिसाउनुहुन्छ ।” त्यो बेला गाउँमा कोही बसेमा अशान्ति हुने भयले पल्लो गाउँ जानुपर्ने बाध्यता रहेको गङ्गा बताउनुहुन्छ ।
बिप्लव बोहराले तीन वर्षयता लगातार सुर्मा सरोवरको यात्रा गरिरहनुभएको छ । एकादशी तिथिको मध्यराति सरोवरका लागि यात्रा गरेर द्वादशीको साँझ मात्रै फर्किने तीर्थालुमध्येका एक उहाँ यस वर्ष पनि सरोवर जाने तयारीमा हुनुहुन्छ । राति आधा बाटोमा पुगेर बस्ने र दोस्रो दिन बिहान सरोवरमा नुहाइधुवाइ, पूजापाठ गरेर फर्किने तयारीमा बिप्लव जुट्नुभएको छ ।
सुर्मादेवीका लागि छुट्टै परम्परा भएकले उहाँलाई खुसी पार्न कठोर तपस्याका साथ यात्रा गर्नुपर्ने उहाँ बताउनुहुन्छ । “यसपटक पनि सरोवर जाने भनेर औँसीदेखि नै बिहानै नुहाइधुवाइ गरेर व्रत लिइरहेको छु”, बिप्लव भन्नुहुन्छ, “सरोवरका लागि शुद्ध साहाकारी भोजन पनि आफ्नो समूहले तयार गरिसकेको छ । हाम्रो समूहमा जाने दुई जना सदरमुकाम चैनपुरबाट नाङ्गै खुट्टा हिँडेर आउँदै हुनुहुन्छ ।” उहाँका अनुसार सुर्मा सरोवर जाने जो कोहीले यात्रा तय गर्दा नै खाली खुट्टाले हिँड्नुपर्छ ।
हरेक वर्ष सरोवर जाने तीर्थालु मात्रै हजार जनाभन्दा बढी हुने गर्दछन् । बाटोमा कसैले नहिँडेको ठाउँबाट मात्रै देवीले हिँड्ने हुँदा अत्यधिक अप्ठ्यारो चट्टान चढेर सरोवर जानुपर्ने हुन्छ । “सुर्मादेवी छिपिली माई भएको हुँदा उहाँलाई छिपिलो बाटो (कसैले नहिँडेको) मात्रै हिँड्नुहुन्छ ।”
कालिका र सुर्मादेवीको सँगसँगै पूजा
मन्दिरमा पूजाआजा गर्दा सुर्मादेवी र कालिका दुवै बहिनीलाई दुई किसिमको चामलको ११÷११ मुठी चढाउनुपर्ने पुजारी धर्मराज पुजारा बताउनुहुन्छ । “दुई बहिनीका दुई गुण छन्”, उहाँ भन्नुहुन्छ, “कालिकालाई बलि नभई हुँदैन । सुर्मादेवीलाई बलिको नामै सुन्न हुँदैन । त्यसैले मन्दिरभित्रै सानो एउटा कोठा बनाएर बोकाको बलि दिने गरेका छौँ ।”
“बलि दिएपछि सुर्माको पूजा लाग्नेतिर नहेरिकन फर्किने गर्नुपर्छ । धामीमा देवी आउनुहुन्छ । उहाँको निर्देशनअनुसार नै हामीले पूजा गर्ने हो”, पुजारी पुजारा भन्नुहुन्छ, “पाँकरगढीमा सुर्मादेवीको मुख्य पूजा भएपछि तेत्तिस कोटी (करोड) देवताकै पूजा गर्नुपर्छ ।”
पूर्ववडाध्यक्ष पूर्णबहादुरका अनुसार अहिलेको सुर्मामा सुर्मादेवी ‘कौतिर’बाट आएकी हुन् । बागेश्वरी, कत्युर, माल, तपोवन हुँदै देवी अहिलेको सुर्मामा उनी पुगेकी हुन् । सुर्मादेवी आउँदा उनको अङ्ग पतन भएको ठाउँमा सोही नामले नामाकरण गरिएको देखिन्छ । देवीको दिसा खसेको ठाउँमा गुहेश्वरी, नङ खसेको ठाउँमा नन्दादेवी, हातमा समातेको घण्ट पतन भएको ठाउँमा घण्टादेवीको नामले नामकरण भएको लोकसंस्कृतिका जानकार विष्णुभक्त जोशी बताउनुहुन्छ ।
सुर्मा गाउँपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशी (मष्टो देवताका धामी) का अनुसार थली नौविसमा २२ पाट (मन्दिरमा राखेका काठका भाग) छन् । त्यसै ठाउँमा रहेकी सुर्मादेवीभन्दा जेठी हुन् दुर्गा ।
अहिलेको दुर्गाथली गाउँपालिकास्थित थलीमा दुई बहिनी दुर्गा र सुर्मासँगै हुँदा श्रीमान् महादेवलाई कुष्टि (कुष्ठरोग) उब्जियो । दुर्गाले सुर्मालाई स्वामीको उपचारका लागि लसुन पिस्न आग्रह गरिन् । सुर्मा गर्भिणी भएको हुँदा पछाडितिर हेरेर अगाडितिर लसुन पिस्न थालिन् । त्यसपछि सुर्मालाई दुर्गाले “तेत्तिकी छिपिली सुर्मा सिकाग्राह लाग” भनेपछि सुर्माले भनिन्,
‘झाँउला त झाँउला दिदी
आधा पाँगर चुँडी लिउँला
थली जिउलो आधा चुँडी लिउँला
जुजीको रोकाया मेराई बाणा लिउँला’
यो कथन फागमा पनि उल्लेख भएअनुसार सुर्माले भनेजस्तै थली नौविसमा जिउलो पनि आधा चुँडेजस्तै देखिन्छ । मन्दिरमा रहेको पाँकरको आधा भाग मात्रै देखिन्छ भने त्यस ठाउँका रोकाया पनि दुर्गाको पूजा गर्नुको साटो सुर्मालाई पुज्ने गरिन्छ । थलीबाट आइसकेपछि सुर्माबाट धल्देउ देवता उत्पन्न भएको मानिन्छ ।