पोखरामा मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना — OSNepal

 पोखरामा मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना

LC (KTM) August 28, 2023 0

गण्डकी, ११ भदौ- गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उहाँले ट्याक्सी मिटरमा गुडे÷नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गर्नुभयो । “मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ, ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ”, मन्त्री जुग्जालीले भन्नुभयो, “जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ ।”

मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताउनुभयो । ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उहाँले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गर्नुभयो । मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए ।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर