भारतीय बाँधमा फसेका १० जनालाई सकुशल उद्धार — OSNepal

भारतीय बाँधमा फसेका १० जनालाई सकुशल उद्धार

LC (KTM) August 21, 2023 0

नयाँदिल्ली – भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

अधिकारीहरुका अनुसार फसेका मानिसहरुको उद्धारका लागि तत्काल प्रयास सुरु गरिएको थियो र स्थानीय समयअनुसार सोमबार बिहान तीन बजेतिर उद्धार कार्य सम्पन्न भएको छ ।भारतको विपद् प्रतिकार्य एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “वन विभागका अधिकारीसहित १० जना सवार मोटरबोट मण्डीको कोल्दाम हाइड्रोपावर स्टेसनमा फसेको थियो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले प्राधिकरणको स्टिमरको सहयोगमा डुङ्गालाई बाँध बाहिर निकालेको छ र उनीहरूलाई सकुशल उद्धार गरेको छ ।”गत साता हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको पहिरो, अचानक आएको बाढी र घर भत्किँदा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण केही बाँधमा पानीको सतह पनि बढेको छ । यस वर्षको मनसुनी वर्षाले राज्यमा आतङ्क मच्चाएको छ ।

हिमाञ्चल प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जुन २४ देखि आइतबार साँझसम्म राज्यभर वर्षासँग सम्बन्धित घटनामा ३४१ जनाको मृत्यु भएको छ भने ३२७ जना घाइते भएका छन् । यसबाहेक अन्य ३८ जना बेपत्ता भएका छन् ।यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिन उत्तराखण्ड, हिमाचल प्रदेश र उत्तरपश्चिम उत्तर प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर