गलेश्वर (म्याग्दी), ३ भदौ : गत साउन २८ गते गएको बाढीबाट पीडित मुस्ताङको कागबेनीका बासिन्दाहरुको सहयोगका लागि छिमेकी घरपझोङ गाउँपालिका–५ को ठिनी गाउँका बासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान सञ्चालन गरेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा एक साताअघि गत साउन २८ गते आइतबार साँझ ठूलो बाढी आएको थियो । बाढीले २९ वटा घरमा पूर्ण क्षति गरेको थियो भने १३ वटा घरमा आंशिक गरी ४२ वटा घरमा क्षति पुर्याएको थियो ।
बाढी पीडितलाई सहयोगका लागि गत बिहीबार ठिनी गाउँका वासिन्दाले ‘कागबेनी विपद् आर्थिक सहयोग’ अभियान सञ्चालन गरेका थिए । सोही अभियानअन्तर्गत आइतबारसम्म सङ्कलन भएको रु पाँच लाख २२ हजार एक सय १५ कागबेनी पुर्नस्थापना तथा संरक्षण समितिलाई हस्तान्तरण गरिएको घरपझोङ गाउँपालिका–५ ठिनीका वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिनुभयो ।
बाढीपीडितहरूको दुःखमा साथ दिन छिमेकी ठिनी गाउँका बासिन्दाहरुले तीन दिनसम्म श्रमदान गरेका वडाध्यक्ष थकालीले बताउनुभयो । अहिले मुस्ताङका विभिन्न गाउँबाट मानिसहरु कागबेनी आएर श्रमदान गर्दै बाढी पसेका घरहरूको मर्मत गरेर बस्न योग्य बनाउने प्रयास गरिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको अभियान चलाइरहेका वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिनुभयो ।
कागबेनीका बाढी पीडीतहरुका लागि मुस्ताङका विभिन्न गाउँका आमा समूह, युवा क्लब, गुम्बालगायतका सङ्घसंस्थाबाट श्रमदान र आर्थिक सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार आज ठिनी गाउँ समाज कोषबाट रु एक लाख, ठिनी आमा समूहबाट रु ५० हजार, जनमुक्ति युवा क्लब ठिनीबाट रु ५० हजार, कुछपतेरङ्गा गुम्बा ठिनीबाट रु ५० हजार, ठिनीवासीको व्यक्तिगत सहयोगमा रु दुई लाख ५७ हजार एक सय १५ प्राप्त भएको छ ।
कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने काग खोलामा पहिरो झरेर थुनिएपछि एकाएक आएको बाढीले आसपासमा ठूलो क्षति पुर्याएको थियो । बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालयलगायत घर बगाएको थियो ।
गण्डकी प्रदेश सरकार तथा स्थानीय सरकार र निकायहरु पनि कागबेनीको पुनर्निर्माणका लागि काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पुनःस्थापनाका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले पनि सघाइरहेका छन् ।
कागबेनी गाउँको बीचबाट बग्ने काग खोलामा आएको बाढीले कागबेनीका २९ वटा घर पूरै क्षतिग्रस्त भएका छन् भने १३ वटा घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । दुई पाङ्ग्रे १६ वटा र चार पाङ्ग्रे दुईवटा गरी १८ वटा सवारीसाधन, एउटा एस्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठे पुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका तथ्याङ्क प्राप्त भएको छ ।
त्यस्तै ४ नं वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा धर्मशालासमेत बगाएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
स्थानीय नागरिकहरूसँगै सुरक्षाकर्मीहरू पनि कागबेनीवासीको पुर्नस्थापनाका लागि दैनिक रूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसदहरू बसेर बाढी पीडितका लागि गर्न सकिने विकल्पका बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उहाँले जानकारी दिनुभयो ।
राहत तथा उद्धार कार्यमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार, मातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ । आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैैंकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’ को खाता नं. २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले बताएको छ ।