म्याग्दी- म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा एक हजार दुई सयभन्दा बढी घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न ठाउँमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएको जनाएको छ । केन्द्रका प्रमुख प्रशान्तकुमार झाले थप १९ दशमलव सात किलोमिटर ११ केभी र ४००/२०० भोल्टेजको ५६ दशमलव ६५ किलोमिटर शाखा लाइन विस्तार गरेर विद्युत् वितरण गरेको जानकारी दिनुभयो ।
“मालिका गाउँपालिकाको रुम, बिलवाङ, औल, मगरदाङ, ढुकुरवाङ, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, रघुगङ्गाको दग्नाम, दुवारी, चौरखानी, घ्याँसीखर्क, धवलागिरीको राम्चे, घण्टीवाङ, अर्गला, आरवाङलगायत बस्तीमा नयाँ लाइन विस्तार भएको हो”, उहाँले भन्नुभयो, “नौ वटा नयाँ ट्रान्सफर्मर जडान, चार वटा ट्रान्सफर्मरको क्षमता वृद्धि, १४ दशमलव दुई किलोमिटर नाङ्गो तार हटाएर कालो तार राखिएको, ३५ वटा काठ र ८१ वटा जीर्ण पोल फेरिएको छ ।”
उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसियाली छाएको छ । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । यस वर्ष थपिएकासहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २१ हजार आठ सय नौ विद्युत्का ग्राहक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सात सय ७० घरधुरीमा नयाँ लाइन जडान हुँदा २० हजार पाँच सय पाँच उपभोक्ता थिए ।
पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । गत वर्ष म्याग्दी वितरण केन्द्रमा नयाँ लाइन विस्तार र पुरानो लाइनको क्षमता विस्तारका लागि १२ वटा योजना सञ्चालन भएको थियो ।
यो आवमा मालिका, धवलागिरि, रघुगङ्गा गाउँपालिकाका केन्द्रीय लाइनको विद्युत् नपुगेका बस्तीका विद्युत् विस्तारका लागि रु २० करोडभन्दा बढी बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७६ लाख ५२ हजार नौ सय ८५ युनिट विद्युत् भएको भएको छ । रु २० करोड ७८ लाख ६६ हजार छ सय ५३ महसुल सङ्कलन भएको केन्द्रका लेखापाल श्याम रानाले बताउनुभयो ।
गत वर्ष समयमा महसुल नबुझाउने तीन सय ७८ उपभोक्ताको लाइन काटेर रु ५४ लाख १५ हजार चार सय दुई बक्यौता असुल गरिएको छ । अघिल्लो आव २०७८/७९ मा तीन सय ६८ उपभोक्ताको लाइन काटेर रु ४६ लाख ८३ हजार दुई सय ७३ बक्यौता असुल भएको थियो । साठ्ठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ ।
“विद्युत् विस्तारसँगै आपूर्तिलाई गुणस्तरीय र नियमित बनाउन नयाँ विस्तार हुने मुख्य, शाखा र वितरण लाइनको तार कालो राख्न थालिएको छ”, केन्द्रका प्रमुख झाले भन्नुभयो, “चुहावट नियन्त्रण गर्न मिटरबक्सको अनुगमन गरी रिसिलिङ गर्ने अभियान चलाएका छौँ ।” अनलाइनबाट महसुल भुक्तानी गर्न, फोनमार्फत र सामाजिक सञ्जालमार्फत मिटर रिडिङ गर्ने सुविधा दिएको केन्द्रले जनाएको छ । ग्रामीण क्षेत्रका उपभोक्ताले घरमा नआई अनुमानको भरमा मिटर रिडिङ गरिँदा कुनै समय कम र कुनै महिना अस्वाभाविक महसुलको बिल आउने गरेको गुनासो गरेका छन् ।