कञ्चनपुर, ३० साउनः लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताउनुभयो ।
“विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ”, उहाँले भन्नुभयो, “नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।” उहाँका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ । नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए । घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो । हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पु¥याएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
विसं २०७१ मा बनाइएको तटबन्ध नजिकै नदीले जग्गा कटानी गरिरहेको छ । तत्काल रोकथामको प्रयास नगरिए तटबन्ध भत्किने खतरा रहेको स्थानीयवासी तारा केसीले बताउनुभयो ।
रोकथामको प्रयास नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापन हुने सम्भावना बढेर गएको उहाँले उल्लेख गर्नुभयो । चुरे क्षेत्रमा वर्षा हँुदा नदी तटीय क्षेत्रका बासिन्दाले अनिदोमै रात काट्ने गरेकोे स्थानीयवासी टीकादत्त पन्तले बताउनुभयो ।
भरपर्दो तटबन्धको माग गर्दै आए पनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको उहाँको भनाइ थियो । विसं २०६५ मा जग्गा कटान भइरहेको क्षेत्रबाटै नदी बस्तीमा पस्दा दर्जनौँ परिवार विस्थापन भएका थिए । बाढीबाट जग्गा कटान भई बेघर भएका व्यक्तिहरु अझै पनि नजिकैका सामुदायिक वन छेउ झोपडी बनाएर बस्दै आएका छन् ।