बर्दिया, २८ साउन : बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रक्रिया नपु¥याई लागत इस्टिमेट तयार पारेको, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविपरीत आफू अनुकूल कागजात तयार पारी रु १५ लाख पाँच हजार नौ सय ३० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । आयोगले वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ ।
यस्तै वन उपभोक्ता समितिका तत्कालीन सल्लाहकार अर्जुनकुमार थापा र कोषाध्यक्ष रामकुमारी खत्रीविरुद्ध रु चार लाख बराबरको बिगो दाबी गरेको छ । वन समूहका उपभोक्ता एवं चिलाउने गाँैडा हिलो खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र पुलका कोषाध्यक्ष रस्मिला बराइलीविरुद्ध रु चार लाख, दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध गलत प्रतिवेदन बनाई भ्रष्टाचारमा सहयोग गरेको अभियोग देखिएकाले कैद र जरिवानाको माग गरेको छ ।
आयोगले वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध समान रु ११ लाख पाँच हजार नौ सय ३० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।