गोरखामा फेला परेको अजिङ्गर चितवनमा लगेर छोडियो — OSNepal

गोरखामा फेला परेको अजिङ्गर चितवनमा लगेर छोडियो

LC (KTM) August 13, 2023 0

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर   चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो ।

फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले जानकारी दिनुभयो । गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको थियो ।

तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएको अजिङ्गर एक प्रजातिको भएको वनअधिकृत गोपालीले बताउनुभयो । अजिङ्गर संरक्षित प्रजतिको घस्रने जनावरअन्तर्गत हो । अजिङ्गरलाई उद्धार गरी गएराति भने सब–डिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो ।

फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको उहाँले बताउनुभयो । वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गर्नुभएको हो । स्थानीयवासीले पहिलो पटक आफूले त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर