कलात्मकरुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै — OSNepal

कलात्मकरुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै

LC (KTM) August 10, 2023 0

बागलुङ-बागलुङको बलेवाबाट दारका ठेका, ठेकी, मदानी, धुपौरा, चम्ठो, पुछैलगायतका सामान बोकेर म्याग्दीको दरबाङ आउनुभएका टीकाबहादुर चुँदारा बिक्रीका लागि ल्याएको एउटा सामान पनि बिक्री नभएपछि निरास हुँदै बागलुङ फर्किनुभयो ।

कलात्मकरुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी सङ्कटमा पर्न थालेका छन् । व्यवसाय नै परिवर्तन गर्ने अवस्था आइलागेको टीकाबहादुर चुँदाराले बताउनुभयो । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी सङ्कटमा परेका उहाँको भनाइ छ ।

वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आउनुभएका चुँदारा काठ कुद्ने पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताउनुहुन्छ । १०÷१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसा आफूले पनि सम्हालेको बताउने चुँदारा ६० वर्ष उमेर पुगुञ्जेलसम्म पनि यही पेसालाई निरन्तरता दिइरहनुभएको छ । यतिञ्जेलसम्म यही पेसाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकामा उहाँलाई चिन्ता लागेको छ ।

कुनै समय थियो, गोठमा रहेका पशुधन र ठेकी हेरेर त्यस घरको हैसियत आँकलन गरिन्थ्यो । ती सबै साधन रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइन्थ्यो । तर, समय फेरियो । मही पार्ने चलन हराउँदै गयो । गाउँघरमा कतै कतै मही पारे पनि प्लाष्टिकका ठेकीको प्रयोग हुन थाल्यो । रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापित ग¥यो । दश पाथे काठको ठेकीमा घ्वार्र… घ्वार्र.. गर्दै मही पारेको दृश्य पछिल्लो समय दुर्लभ हुन थालेको छ । ठेकी र मदानीले दही मथेर मही पार्ने र घट्घटी पिउने चलन पनि हराउँदै गएको छ ।

काठबाट ठेकाठेकी बनाउन चुँदारा नै सिपालु हुन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिन्छ । उहाँले बनाएका काठका सामग्री बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको उहाँको भनाइ छ ।

दश पाथी जाने एउटा दारको ठेकोलाई रु १२ देखि रु १५ हजारसम्म पर्ने उहाँ बताउनुहुन्छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५÷३० हजार रुपैयाँसम्म आम्दानी गर्ने चुँदारा पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताउनुहुन्छ । अहिले मुस्किलले मासिक पाँच÷सात हजार रुपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।”

बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको दरबाङका व्यवसायी सन्तनाथ सुवेदीले बताउनुभयो ।

विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायतका समान बनाउने गरेका चुँदाराले यी सामान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर