‘सडक सुरक्षा सुनिश्चित गर्न सरोकार राख्ने निकायबीच बलियो साझेदारी आवश्यक’ — OSNepal

‘सडक सुरक्षा सुनिश्चित गर्न सरोकार राख्ने निकायबीच बलियो साझेदारी आवश्यक’

LC (KTM) August 07, 2023 0

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सरोकार राख्ने निकायबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा उहाँले प्रत्येक नागरिकले सुरक्षितरूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायको प्रयासको खाँचो रहेको बताउनुभयो ।

सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौती रहेको उल्लेख गर्दै उहाँले ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियोमार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने बताउनुभयो । उहाँले सडक सुरक्षासँग सम्बन्धित विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरीलगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर