कुनैबेला बाजागाजासहित गाउँलेले भव्य स्वागत गर्दै बस भित्र्याएको चन्द्रनिगाहपुर बसपार्क अहिले सुनसान — OSNepal

कुनैबेला बाजागाजासहित गाउँलेले भव्य स्वागत गर्दै बस भित्र्याएको चन्द्रनिगाहपुर बसपार्क अहिले सुनसान

LC (KTM) August 04, 2023 0

चन्द्रपुर (रौतहट), १९ साउन-चन्द्रनिगाहपुर बसपार्क अहिले सुनसान छ । कुनैबेला बाजागाजासहित गाउँलेले भव्य स्वागत गर्दै बस भित्र्याएको त्यो क्षणमा गाउँलेहरु निकै रमाएका थिए । त्यो रमाइलो क्षण अहिले सबैलाई सपना झैँ भएको छ । हिजो आज गौर चन्द्रनिगाहपुर चल्ने बस एउटा पनि त्यस बसपार्कभित्र पार्किङ हुँदैनन । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को टेकानटोलमा रहेको चाँदी नदी छेउको बसपार्क नाउँमा मात्रै सीमित हुन पुगेको छ । नगरपालिका र सम्बन्धित निकायको ध्यान जान नसक्दा एक दशकदेखि यो बसपार्क अलपत्र अवस्थामा पुगेको हो ।

राजमार्गको मुख्य चोक र गौर सडकखण्डमा जथाभावी सवारी साधन राख्न थालेकाले २०६९ सालमा यहाँ बसपार्क बनाइएको थियो । यो बसपार्क दुई बिघा जमिनमा निर्माण गरिएको थियो । पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको यो बसपार्क केही समय सञ्चालन भए पनि पछि बन्द हुन पुग्यो । सदरमुकाम गौरबाट आउने र जाने गाडीका लागि स्थानीयवासीको सहयोगमा लाखौँ रुपैयाँ खर्च गरेर बनाइएको यस बसपार्क अहिले खण्डहर झैँ देखिन थालेको छ ।

स्थानीय राजनीतिक दल र चन्द्रपुर नगरपालीकाले अलपत्र बसपार्क सञ्चालनमा ल्याउन अहिलेसम्म पहल नगरेको स्थानीयवासी भरत गुरुङको आरोप छ । नगरपालिकाले भने बस होल्डिङ सेन्टर र बन्द बसपार्क सञ्चालनमा ल्याउन पहल गर्ने जनाएको छ ।

नगरप्रमुख सञ्जय काफ्ले पूर्वको चाँदी पुल क्षेत्रमा बसको होल्डिङ सेन्टर निर्माण र यस अलपत्र बसपार्क सञ्चालनमा ल्याउन पहल गरिरहेको बताउनुहुन्छ । उहाँ चाँडै नै सम्बन्धित निकायका प्रतिनिधि राखेर छलफल गर्ने र बस होल्डिङ सेन्टर तथा अलपत्र बसपार्क सञ्चालनमा ल्याउने जानकारी दिनुहुन्छ ।

नगरप्रमुख काफ्लेका अनुसार चाँदी नजिक पूर्वमा चार्जिङ स्टेशन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने टेकानमा आधुनिक बसपार्क निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान गरिएकोे छ । चाँडै नै बसपार्क निर्माण गरी यो बसपार्क सञ्चालन गरिने उहाँको जिकिर छ ।

बसपार्क हुँदाहँुदै चन्द्रनिगाहपुरको मुख्य चोक वरपर अहिले बसहरु राख्न थालिएको छ । केहीसमय मुख्य चोकको अस्तव्यस्तता हटे पनि अहिले उस्तै छ । सञ्चालनमा आएको एक वर्ष बित्न नपाउँदै बसपार्कमा गाडी जान छाडे र अन्यत्र गाडी पार्किङ गरिए । केही समयपछि ब्याट्री चोरी हुने, बसका कर्मचारीमाथि दुव्र्यवहार र असुरक्षाका कारण बस सञ्चालकले पार्किङ गर्न छाडेका हुन् । यही कारण जनाउँदै बस व्यवसायीले बस नलैजाँदा बसपार्क अलपत्र परेको हो । स्थानीय प्रताप लामाको अध्यक्षतामा बसपार्क व्यवस्थापन समितिसमेत गठन गरिएको थियो भने पर्खाल, घेराबेराजस्ता पूर्वाधार संरचना, बत्ती, धारा, हेरालु, आदिमा नगरपालिकाको बजेट र दाताको चन्दा सहयोगबाट बसपार्क बनेको थियो ।

बसपार्कमा अहिले एउटा पनि गाडी छैन । असुरक्षाका कारण भन्दै व्यवसायी बसपार्कमा गाडी लैजान मान्दैनन् । उनीहरु मुख्य सडक, ग्यारेज र आफन्तको घरमा गाडी राख्छन् । धेरैले सडक छेउमै ट्राफिक नियमविपरीत गाडीहरु राख्ने गर्छन् । बसपार्क भए पनि राजमार्गमा दायाँबायाँ जथाभावी पार्किङ गर्न थालेपछि बजार, सडक अस्तव्यस्त बनको छ । रौतहट बस व्यवसायी सङ्घका अध्यक्ष लालबाबु गिरीले सुरुका बेला सुरक्षाको कारण र बस कर्मचारमाथि केही व्यक्तिले आक्रमण गर्ने र तेल झिकिदिने गर्न थालेपछि टेकानमा पार्किङ गर्न छाडेको बताउनुहुन्छ । सदरमुकाम गौर–चन्द्रनिगाहपुरमा ३२ वटा यात्रुवाहक बस सञ्चालनमा छन् । तीनलाई पार्किङको समस्या छ । बसपार्क बनेलगत्तै ठूलो सङ्ख्यामा स्थानीयवासी र गाडी मजदुर भेला भएर बाजागाजासहित बस र आधादर्जन टाटा सुमोलाई एकैसाथ लाइन लगाएर लगिएको थियो ।

बसपार्क निर्माण समितिका तत्कालीन अध्यक्ष प्रताप लामा मधेस आन्दोलन र अन्य बहाना बनाई व्यवसायीले पार्किङ गर्न छाडेको बताउनुहुन्छ । त्यसबेला गौरबाट आउने र जाने सबै गाडी सिधै टेकान जानुपर्ने नियम बनाइएको थियो । चोक र सडक छेउमा बस जथाभावी पार्किङ गरिएको भन्दै इलाका प्रहरी र जिल्ला ट्राफिकले नगरपालिकाको ध्यानाकर्षण गराइएको जनाएका छन् ।

रौतहट जिल्ला ट्राफिक प्रमुख बिमला कठायत सडकमै पार्किङ गर्ने गाडीलाई बसपार्क लैजान सकेमा दुर्घटनामा कमी आउने बताउनुहुन्छ । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गको दायाँबायाँ र गौर सडकमा बस, ट्रक, ई–रिक्सा, जीप सडकमै पार्किङ गर्छन् । नियमले सडकमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नो पार्किङको बोर्ड राखिए पनि ट्राफिक नियमको अटेर गरी सडकमै राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर