बाँकेमा किसानले उत्पादन गरेको स्थानीय मह बजारीकरणमा समस्या — OSNepal

बाँकेमा किसानले उत्पादन गरेको स्थानीय मह बजारीकरणमा समस्या

LC (KTM) July 27, 2023 0

राँझा-बाँकेमा किसानले उत्पादन गरेको स्थानीय महको बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा किसानले वार्षिक २० टन मह उत्पादन गर्दै आए पनि महको बजारीकरणमा समस्या रहेको कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बताउनुभयो । वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आउनुभएका रानाले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेको जनाउनुभयो ।

“हामीले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “उत्पादित महले बजार नपाउँदा निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

जिल्लामा रैथाने मह उत्पादन, प्रवरद्धन र संरक्षणमा क्रियाशील अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भइरहेकोले नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा जोड दिनुभयो ।

हाल बाँके जिल्लामा विभिन्न समूहमार्फत ५० किसानले वार्षिक २० टन मह उत्पादन गरिरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा बाँकेमा जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्रले मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका मौरीपालक किसानलाई अनुदान र तालिम दिई मह उत्पादनमा सहजीकरण गर्दै आएका कारण उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका कृषि स्रोत व्यक्ति अनिश श्रेष्ठले जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताउनुभयो । उहाँले महको बजारीकरणका लागि योजना बनिरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर