मनाङ, १ जेठ-नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ ।
स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताउनुभयो । उहाँका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् । यस गाउँपालिकामा अहिले नयाँ भेरियन्टसहितको कोरोना देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् । गत मङ्गलबारको पिसिआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना सङ्क्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र सङ्क्रमित भेटिएका छन् । यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना सङ्क्रमित रहेका छन् । मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङगाउँमा एक गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।
नेदरल्याण्डका नागरिक सङ्क्रमित भेटिएपछि मात्र जिल्ला प्रशासनले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा तथ्याङ्क रहने भए पनि कुन ठाउँमा कति पर्यटक छन् भन्ने आधिकारिक नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका जाँचचौकीमा परमिट दर्ता गरेर आउने हुँदा हामीकोमा कुनै तथ्याङ्क हँुदैन । हामीले अहिले तथ्याङ्क खोजिरहेका छौँ”, उहाँले भन्नुभयो । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले तथ्याङक सङ्कलन गर्दै गरेको र कुन पर्यटक कुन ठाउँमा बसेका छन् खोजी भइरहेको जनाएको छ ।
अहिले कोरोना ‘हटस्पोट’ जस्तै बनेको मनाङमा रहेका विदेशी नागरिक अलपत्र परेको जानकारीसँगै जिल्ला प्रशासन कार्यलयमनाङले तथ्याङ्क सङ्कलन गर्दै उनीहरुको इच्छाअनुसार चाहेको ठाउँमा पठाउने कार्य भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो । उहाँका अनुसार एक जना नेदरल्याण्डका नागरिक सङ्क्रमित भएको र उहाँलाई हेलीचार्टर्ड गरी काठामाडाँै पु¥याइएको छ भने अरु यहाँ सकुसल रहेका छन् ।
मनाङमा हाल अलपत्रमा रहेका अधिकांश युरोपियाली मुलुकका नागरिक छन् । दुई भारतीय, तीन इजरायली, अरु फ्रान्स, नेदरल्याण्ड र ब्रिटिसका नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठूला शहरमा भयवह स्थिति आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा बसिरहेका छन् । (रासस)