भद्रपुर भन्सार कार्यालय : लक्ष्यभन्दा कम राजश्व असुली — OSNepal

भद्रपुर भन्सार कार्यालय : लक्ष्यभन्दा कम राजश्व असुली

LC (KTM) July 20, 2021 0

झापा-भद्रपुर भन्सार कार्यालय झापाले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ का कारण भन्सार अढाइ महिना बन्द हुँदा लक्ष्यअनुसार राजश्व असुली गर्न नसकेको जनाएको छ । भन्सारले रु ३० करोड २१ लाख राजश्व असुली गर्ने लक्ष्य लिए पनि रु २७ करोड नौ लाख १८ हजार मात्र असुली गरेको प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताउनुभयो । उहाँका अनुसार लक्ष्यको ९० प्रतिशत राजश्व असुली भएको हो ।

उहाँले भन्सार महसुलवापत रु १३ करोड ५० लाख ४८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ११ करोड आठ लाख ८६ हजार, कृषि सुधार शुल्क रु एक करोड छ लाख ७६ हजार, भन्सार सेवा दस्तुर रु १८ लाख ४४ हजार ६००, अन्त शुल्कवापत रु ५५ लाख ४६ हजार ५००, अग्रिम आयकर रु ६६ लाख १८ हजार र आकस्मिक लाभकारतर्फ रु तीन लाख दुई हजार राजश्व असुली भएको बताउनुभयो ।

प्रमुख पौडेलले वैशाख १५ गतेदेखि हालसम्म भन्सार नाका बन्द हुँदा यसको असर राजश्वमा परेको बताउनुभयो । मेची नदीमा पुल बनेपनि भद्रपुर नाकाबाट खाद्यान्न, लत्ताकपडा, माछा, चिया उद्योगका लागि चाहिने औजारलगायत सामग्री मात्र आयात हुँदै आएको उहाँको भनाइ छ । दुई वर्ष अघि पुल बनेपनि भारतको बिहार र पश्चिम बङ्गालतर्फ जोड्ने सडक अभावमा यो नाका भएर मट्टितेलका ट्याङ्कर, सिमेन्टका लागि चाहिने लिङ्कर, कोइलालगायतका सामग्री लिएर ठूला मालवाहक सवारी नआएको उहाँले बताउनुभयो । उहाँले चालू आवमा सडक बनेसँगै यो नाकाबाट यी सामग्रीको आयात हुने र भन्सार राजश्व वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर