पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण — OSNepal

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

LC (KTM) July 16, 2023 0

मङ्गलबारे- इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो ।

टहरा व्यवस्थापनका लागि मन्त्रालयले रू ४० लाख, रोङ गाउँपालिकाले रू २० लाख र उपभोक्ताले रू छ लाख १२ हजार पाँच सय खर्च गरेका गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले बताउनुभयो । उहाँका अनुसार ४८ वटा व्यावसायिक टहरालाई आकर्षक रुपमा निर्माण गरिएको छ । टहरा निर्माण र मन्दिर परिसर सजावटका लागि रू ६८ लाख ४२ हजार छ सय खर्च भएको छ ।

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै यहाँको व्यावसायलाई व्यवस्थित बनाउने उद्देश्यले व्यवस्थित टहरा निर्माण गरिएको अध्यक्ष स्याङ्वोले बताउनुभयो । टहरा निर्माणपछि पाथीभरा मन्दिर परिसर आकर्षक र व्यवस्थित देखिएको छ । उहाँका अनुसार टहरा निर्माणपछि विद्युत् जडान, हाँसपोखरी, कुट्टीडाँडा क्षेत्रमा दुबोरोपणसमेत गरिएको छ ।

इलाम प्रवेशद्वार जोरकलस, कुट्टीडाँडा, हाँसपोखरी हर्कटेलगायत मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसरलाई सुन्दर बनाउन थालिएको अध्यक्ष स्याङ्वोले जानकारी दिनुभयो । धार्मिक पर्यटनसँगै मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले आर्कषित गराउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ । सौन्दर्यकरणले रोङमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिइएको उहाँको भनाइ थियो ।

रोङ–३ मा रहेको पाथीभरा मन्दिर परिसरमा ‘माता पाथीभरा साना पर्यटन व्यवसायीले संस्था’ स्थापना गरी व्यवसाय गर्दै आएका छन् । स्थानीय सरकारले पाथीभराको प्रवद्र्धनमा चासोका साथ काम अगाडि बढाएको यहाँका व्यवसायी बताउँछन् । यसअघि यस क्षेत्रमा अव्यवस्थित र मनोमानी ढङ्गले व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएकामा अब व्यवस्थित हुने उनीहरुको भनाइ थियो ।

मन्दिरमा आउने भक्तजनका साथै मन्दिर परिसरमा पुजाका सामग्रीलगायत सेवा प्रदान गर्ने व्यवसायीको सहजताका लागि पालिकाले काम गरिरहेको पालिकाको दाबी छ । यस क्षेत्रमा साना व्यवसायी संस्थामा हालसम्म ४८ जना व्यवसायी आवद्ध रहेका पालिकाले जनाएको छ । संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन् ।

गाउँपालिकाको मातहतमा मन्दिर आएपछि मन्दिर थप व्यवस्थित र सफा भएको अनुभूति भएको भक्तजनको भनाइ छ । वार्षिक करोडौँ रकम सङ्कलन हुने यस मन्दिरमा पछिल्लो समय आम्दानी वृद्धि हुँदै गएको छ । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पुग्न नसक्नेले स्मरण थर्दासमेत मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यहाँ झापा, मोरङ, सुनसरीलगायत तराईका विभिन्न जिल्लाबाट दैनिक सयौँ भक्तजन आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर