एक्लिए राजेन्द्र महतो, सबै सांसद उपेन्द्र यादवतिर लागे ! — OSNepal

एक्लिए राजेन्द्र महतो, सबै सांसद उपेन्द्र यादवतिर लागे !

LC (KTM) July 19, 2021 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भइसकेको छ । अब निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता कसको भागमा पर्छ, त्यसको मात्रै पर्खाइ भइरहेको छ । पार्टीको हरेक समिति र संसदीय दलमा समेत उपेन्द्र यादव पक्षको बहुमत रहेका कारण उसैले आधिकारिकता पाउने देखिएको छ । एकीकरण भएको एक वर्ष नबित्दै जसपा विभाजन हुँदा सबैभन्दा बढी घाटा राजेन्द्र महतोलाई लागेको छ । जसपामा महन्थ ठाकुर पक्षबाट जति नेता तथा सांसदहरु उपेन्द्र यादवको पक्षमा लागेका छन्, ती सबै पार्टीका वरिष्ठ नेता रहेका राजेन्द्र महतोकै पक्षका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

अध्यक्ष उपेन्द्र यादवको पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसद समेत रहेका समाजिक विकास मन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद डा.रिना यादव, अञ्जु यादव, निरा साह गइसकेका छन् । उनीहरु सबैजना राजेन्द्र महतोका खास व्यक्ति थिए । र, सबैजना पूर्व सद्भावना पार्टीका नेता हुन् ।

पूर्वराजपामै रहेका महेन्द्रराय यादवको सम्पूर्ण टीम उपेन्द्र यादवमा गइसकेको छ भने अनिल कुमार झाको पक्षमा रहेका संघीय सांसद रानी मण्डल र राजकिशोर यादवको पक्षमा रहेका कार्यकारिणी सदस्य गजाधर यादव पनि उपेन्द्र यादवको पक्षमा गइसकेका छन् । महन्थ ठाकुर पक्ष अर्थात पूर्व तमलोपाका भने कोही पनि यताउति भएका छैनन् । राजेन्द्र महतोको पक्षबाट मात्रै संघ र प्रदेश गरी आठजना सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् ।

२०७५ सालमा ६ वटा पार्टी मिलेर राजपा गठन भएको थियो । ती छ वटा दलमध्ये राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी पनि एक हो । राजपामा राजेन्द्र महतो जहिले पनि बहुमतमा हुन्थे । सांसददेखि लिएर केन्द्रीय कमिटी लगायतमा राजेन्द्र महतोको नै बहुमत हुन्थ्यो । उनले त्यसकै आधारमा महन्थ ठाकुरसँग पार्टीको सत्ता साझेदारी गरेर पार्टीमा आफ्नो प्रभाव कायम राख्दै आएका थिए । जसपा बनिसकेपछि पनि राजेन्द्र महतोले पार्टीमा आफ्नो पूर्व समूहको प्रभाव देखाएका थिए । त्यही आधारमा उनले आफूलाई संसदीय दलको नेता बनाउन सफल भए । तर, आज उनीसँग रहेका सबै नेता तथा सांसद उपेन्द्र यादवको पार्टीमा लागेका छन् । राजेन्द्र महतोका खासखास नेता तथा सांसद छाडेर हिँडेपछि जसपामा महतो निकै कमजोर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर